| सोमवार, अशोज ११, २०८३

पार्वती निमाविका विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण

धार्चे गाउँपालिका–३उहियास्थित पार्वती निमाविका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो स्वीटर वितरण गरिएको छ । गणेश हिमाल एशोसिएशन नामक संस्थाले लेजामी दि लाप्राकको समन्वयमा प्राप्त स्वीटर आईतबार विद्यालयमा अध्ययनरत १४९ जना विद्यार्थीहरुलाई वितरण गरेको हो ।

संस्थाले हरेक वर्षझैँ यो वर्ष पनि विद्यार्थीहरुसँग भेटघाट गरी जाडोबाट बचाउन कोसेली स्वरुप स्वीटर वितरण गरेको पार्वती निमाविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्र प्रसाद गुरुङले बताए । गणेश हिमाल एशोसिएनले लेजामी दि लाप्राकसँगको समन्वयमा हरेक वर्ष दसैँको समय मिलाएर धार्चेका विद्यालयहरुमा पुगी विद्यार्थीहरुसँग भेटघाट गर्ने र सहयोग गर्ने गरेको उनले जानकारी दिए ।

‘उहाँहरु हरेक वर्ष दशैँको समयमा आएर विद्यालयहरुको अनुगमन गर्नुहुन्छ’, उनले भने, ‘सँगै विद्यार्थीहरुका लागि केही न केही कोसेली ल्याउनु हुन्छ । गत वर्ष सबै विद्यार्थीहरुका लागि झोला ल्याउनु भएको थियो । यो वर्ष भने स्वीटर वितरण गर्नुभएको छ ।’ लेजामी दि लाप्राकले सो संस्थाले करिब १६ वर्ष अघि ८ कोठे भवन समेत निर्माण गरिदिएको उनको भनाई छ । संस्थाले धार्चेको शिक्षा क्षेत्र बिकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्