
गोरखामा मापदण्ड विना संचालित दुई मासु पसल कारवाहीमा
आवश्यक मापदण्ड र सरसफाईमा ध्यान नदिएको भन्दै गोरखा बजारका दुई वटा मासु पसललाई कारवाही गरिएको छ । गोरखा नगरपालिका–६ पुरानो बसपार्कस्थित माइला फ्रेस हाउस र मनकामना मिट हाउस एण्ड होलसेल पसललाई पाँच हजारका दरले जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रविन्द्र घिमिरेले बताए ।
नजिकिदै गरेको चाडवाडलाई लक्षित गरी सोमवार जिल्ला अनुगमन समितिले बजार अनुगमन गरेको थियो । सोही क्रममा आवश्यक मापदण्ड पुरा नगरेको पाएपछि कारवाही स्वरुप जरिवाना गरिएको घिमिरले जानकारी दिए ।
‘नाप तौलको प्रमाण, साइनबोर्ड, मूल्यसूचि केही पनि भेटिएन,’ उनले भने, ‘व्यवसाय दर्ता भएपनि केही बर्षदेखि नविकरण समेत नगरेको देखियो ।’ उपभोक्ता संरक्षण ऐनको दफा ३८ घ तथा ३९ क बमोजिम पहिलो पटकका लागि पाँच हजार जरिवाना गरिएको उनले बताए ।
ऐन अनुसार बढीमा तीन लाखसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको उनले जानकारी दिए । सात दिनभित्र जरिवाना तिर्न नआए पसल शिल गरिने उनले चेतावनी दिएका छन् ।
समितिले मासु पसलसँगै मसला तथा किराना पसलहरुको पनि अनुगमन गरेको थियो । अनुगमनका क्रममा मसला तथा किराना पसलमा भेटिएका म्याद गुज्रेका खाद्यान्नहरु जफत गरिएको छ । उक्त खाद्यान्न प्रक्रिया पु¥याएर नष्ट गरिने प्रशासकीय अधिकृत घिमिरेले बताए ।
बजार अनुगमनले तिव्रता पाउने र जुनसुकै बेला छड्के अनुगमन हुन सक्ने उनले जानकारी गराएका छन् ।




