
पर्यटन विकासका लागि अन्तरक्रिया, पूर्वाधार निर्माणमा जोड दिन सुझाव
शिव उप्रेती । गोरखा फर्क अभियानमा गोरखा सदरमुकाम आएका युवाहरुसंग गोरखा नगरपालिकाले गरेको अन्तरक्रिया क्रममा अधिकांश सहभागीले पर्यटन पूर्वाधारमा जोड दिएका छन् । बुधबार गोरखा सदरमुकाममा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै डाक्टर उत्तमबाबु श्रेष्ठले कस्तो पर्यटक ल्याउन खोजेको हो भन्ने कुरामा स्पष्ट हुनुपर्नेमा जोड दिए ।
‘गोरखामा हामीले १७ औ शताव्दीमा रामशाहले बनाएको गोरखा दरवार र १९ औ शताव्दीमा राजेन्द्र बिक्रम शाहका लागि बनाइएको हाल संग्रहालय रहेको तल्लो दरवारमात्र देखाइरहेका छौँ । त्यो बेलामा बनाएको चीजबाहेक पछि हामीले दिन सक्ने केही बनाएका छैनौँ’ डाक्टर श्रेष्ठले भने, ‘पर्यटक एउटा हेर्न र अर्काे अध्ययन गर्न जाने हो । तर गोरखा नगरपालिकामा हालसम्म जति पनि बिकास भएको छ त्यो झिल्के बिकास हो । गोरखामा सांस्कृतिक र धार्मिक एवं ऐतिहासिक दरवार छ । नेपालको अहिलेको जनगणनाले हामी १४१ जाती जनजाती भन्छ, हामी चार जात ३६ वर्णको साझा फुलवारी भनेर पृथ्वी नारायण शाहले भनेको भन्ने कुरा छ, हामी यस्तो ठाउँ बनाऔँ, जहाँ १४१ जाति, जनजाती सबैको प्रतिनिधित्व हुन सकोस् । एउटा यस्तो बस्ती निर्माण गरौँ जहाँ नेवार, गुरुङ, मगर, सार्की, दमाईलगायत सबैको घर होस् । आफ्नो पेशाप्रति गर्व गर्न सकोस्, त्यहाँ एउटा जिवन्त संग्रहालयको निर्माण होस्, त्यो भयो भने पर्यटक आउने सम्भावना हुन्छ ।’ पर्यटकलाई मनकामनाबाट सिधै गोरखा दरवार जोड्ने गरी रणनीति बनाउनुपर्ने उनको सुझाव थियो । मौलिकता हराएकोप्रति चिन्ता गर्दै, उनले मौलिकताको पहिचान झल्कने घर बनाउन पनि सुझाव दिए ।
कार्यक्रममा बोल्दै होटल व्यवसायी अशोक श्रेष्ठले गोरखामा पर्यटक ल्याउने वातावरण सृजना गर्नका लागि गैर आवासीय नेपालीहरुसँग आवश्यक समन्वय गरिदिने प्रतिवद्धता जनाए । गोरखामा लगानी गर्न गोरखा घर भई हाल मुलुकबाहिर बसेकाहरुसंग समन्वय गर्न पनि सुझाव दिए ।
नगर उपप्रमुख मसलीमाया थोकरले यो बर्षलाई गोरखा भ्रमण बर्षको रुपमा मनाउन लागिएको बताइन् । पर्यटक भित्र्याउनका लागि आवश्यक समन्वय र सहयोग गर्न उनले आग्रह गरिन् ।
हरेक कुरालाई राजनीतिक दृष्टिकोणबाट मात्र हेर्ने र असहयोग गर्ने प्रवृति बढेकाले पनि गोरखामा सोचेजस्तो बिकास हुन नसकेको उनले बताइन् । ‘एउटा होम स्टे संचालन गर्न प¥यो भने कांग्रेसको हो कि, एमालेको हो कि, माओवादीको हो भन्ने प्रश्न पहिले तेर्सिन्छ । अनि फरक पार्टीको रहेछ भने असहयोग गर्ने परिपाटी छ,’ उनले भनिन्, ‘पर्यटन प्रवद्र्धनका लागि ल्याइएका योजनाहरुमा नगरपालिकाको सधै साथ र सकारात्मक प्रयास रहनेछ ।’ मौलिकता झल्कने किसिमका घरहरु बनाउनुपर्नेमा उनको जोड छ । ‘मौलिकता झल्कने शैलीको पहिलो घर जस्ले बनाउँछ उसलाई नगरपालिकाको तर्फबाट सहयोग हुन्छ’, उनले भनिन् ।
नगरपालिकाका मेयर कृष्ण रानाले पर्यटन प्रवद्र्धनका लागि कस्ता योजना ल्याउन ठिक हुन्छ सुझाव दिन आग्रह गरे । उनले पर्यटन विकासका लागि गाइड तयार गरेको पनि जानकारी दिए । साथै क्यूआर कोडमार्फत गोरखा नगरपालिकाभित्रका पर्यटकीय स्थलको जानकारी पाउने प्रविधिको विकास गर्ने तयारी गरेको पनि बताए । गोरखा बजारलाई सम्पदा बस्ती बनाउने कार्यको सुरुवात गरेको, नेपाल एकीकरणदेखि गणतन्त्रसम्मको सहिदहरुको सम्झनामा पार्क निर्माण गर्ने, तेरकिलोबाट हेर्दा गोरखा दरबारको बनमा गोरखाको नक्सा देखिने बत्ति निर्माण गर्ने जस्ता योजनाहरुको पनि मेयर रानाले जानकारी दिए । ‘गोरखा, जहाँ इतिहास जीवित छ’ भन्ने नारा तयार गरी काम गरिरहेको पनि उनले जानकारी दिए ।




