
‘सेभेन ए साइड’ नकआउट खुल्ला फुटवल प्रतियोगिता सुरु
जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा पहिलो रेम्बो कफ ‘सेभेन ए साइड’ नकआउट खुल्ला फुटवल प्रतियोगिता सुरु भएको छ । युनाईटेड सेभेन युथ क्लबको आयोजनामा शनिवारबाट सुरु भएको प्रतियोगिता अन्तरगत पहिलो दिन चार खेल भएका छन् ।
पहिलो खेल युनाईटेड सेभेन अन्डर १७ र सतिपिपल क्लब बीच भएको थियो । उक्त खेलमा ४–० गोल अन्तरले युनाईटेड सेभेन बिजयी बनेको छ । छेपाली सांस्कृतिक फुटवल क्लब र हरमटारी क्लबबीच भएको दोस्रो खेलमा ३–० को गोल अन्तरले छेपाली सांस्कृतिक क्लब बिजयी भएको आयोजक क्लबका अध्यक्ष श्याम आले मगरले बताए ।
महिला तर्फको लिग फुटवल प्रतियोगिता तर्फ भने एक खेल भएको छ । हिल्ली फिडर फुटवल क्लब र युनाईटेड सेभेन बीच खेल भएको हो । निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल बराबरीमा टुंगिएको हो । भेटरान्स तर्फको खेलमा सेभेन स्टार क्लब डुम्रे बिजयी बनेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाको टिमलाई ४–० को गोल अन्तरले हराउँदै सेभेन स्टार क्लब बिजयी बनेको हो । नकआउट खुल्ला प्रतियोगितामा पहिलो हुनेले ५० हजार नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र पाउने छन् । दोस्रो हुनेले २५ हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष मगरले बताए ।
उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, उत्कृष्ट गोलरक्षक र धेरै गोल गर्ने खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ । महिलातर्फको प्रतियोगितामा पहिलो हुनेले नगद पाँच हजार पुरस्कार पाउने छन् भने भेटरान्सतर्फ पहिले हुने टिमले पुरस्कार स्वरुप बोका पाउने बताइएको छ । प्रतियोगिताको शनिवार एक कार्यक्रमका बीच गोरखा नगरपालिका मेयर कृष्ण रानाले उद्घाटन गरेका हुन् ।




