| मङ्लबार, अशोज १२, २०८३

असोज १७ देखि २१ गतेसम्म लिगलिगकोट महोत्सव तथा लिगलिगे दौड हुने


गोरखाको पालुङ्टार नगरपालिकामा प्रथम लिगलिग महोत्सव एवं लिगलिगे दौड प्रतियोगिता हुने भएको छ ।

असोज १७ गतेदेखि २१ गतेसम्म पाँच दिवसीय लिगलिग महोत्सव तथा लिगलिग दौड प्रतियोगिता आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

स्थानीय कला, संस्कृति, र परम्परालाई प्रबद्र्धधन गर्नका लागि पहिलो पटक महोत्सव आयोजना गर्न लागिएको नगरपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख विवश चिन्तनले जानकारी दिए ।

महोत्सवमा लिगलिग क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक परम्परासँग सम्बन्धित प्रदर्शनी, हस्तकला र शिल्पकला प्रदर्शनी, स्थानीय परम्परागत नृत्य तथा संगीत प्रस्तुत गरिनेछ । त्यस्तै, शैक्षिक, कृषिजन्य तथा खाना प्रदर्शनी, पर्यटकीय क्षेत्रको डिजिटल बोर्डबाट चिनारी गराईने कार्यक्रम रहेको उनले जानकारी दिए ।

५ दिनसम्म चल्ने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती पनि रहनेछ । महोत्सवमा मनोरन्जनकै लागि परम्परागत पिङ रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङ पनि राखिने भएको छ ।

पालुङ्गटार नगरपालिकाको लगानी पालुङ्गटारबाहिर नजाने गरी महोत्सव अन्तरगतका इभेन्टहरु तय गरिने नगर प्रमुख चिन्तनले बताए । गोरखा, तनहुँ, लमजुङ लगायतका जिल्लाका बासिन्दाले महोत्सव अबलोकन गर्ने आयोजक नगरपालिकाको अपेक्षा छ । कार्यक्रमका लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

महोत्सवको अन्तिम दिन असोज २१ गते चेपेघाटदेखि लिगलिगकोटसम्म १२ औं खुल्ला लिगलिगे दौड प्रतियोगिता गर्ने नगर प्रमुख चिन्तनले बताए ।

नेपाल एकीकरणअघि बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ । त्यसैले लिगलिगकोटलाई नेपाल एकिकरणको जगका रुपमा पनि लिइन्छ ।

सोही इतिहासको सम्झना र प्रचार प्रसारका लागि २०६७ सालदेखि लिगलिगकोट विकास अभियानले गर्दै आएको लिगलिगे दौड प्रतियोगिताको आयोजना यसबर्षदेखि नगरपालिकाले गर्ने नगर प्रमुख चिन्तनले बताए । यसका लागि लिगलिगकोट विकास अभियान लगायत नगर क्षेत्रका अन्य संघसंस्थासँग पनि सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्