| बुधबार, कार्तिक २५, २०८३

पत्रकार मरहट्टा र श्रेष्ठ सम्मानित

पत्रकार बिकास मरहट्टा र भिमलाल श्रेष्ठ सम्मानित भएका छन् । अन्तराष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर शनिवार राष्ट्रिय युवा परिषदले उनीहरुलाई सम्मान गरेको हो । पत्रकारिताको माध्यमबाट सूचना तथा सञ्चार क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको बताइएको छ । मरहट्टा दरौदी दैनिक पत्रिकाका कार्यकारी सम्पादक र अनलाइनखबरका जिल्ला सम्वाददाता हुन् । बिगत एक दशकदेखि उनी पत्रकारिता पेशामा संक्रिय छन् । विगत दुई दशकदेखि पत्रकारिता पेशामा संक्रिय श्रेष्ठ कान्तिपुर टेलिभिजनका जिल्ला सम्वाददाता हुन् ।


परिषद र रिटर्नी माइग्रेंट नेपाल गोरखा जिल्ला समितिको संयुक्त आयोजनामा शनिवार जिल्ला सदरमुकाममा भएको एक कार्यक्रमका बीच दोसल्ला र कदर पत्रले उनीहरुलाई सम्मान गरिएको रिटर्नी माइग्रेंट नेपाल गण्डकी प्रदेश सदस्य एवं जिल्ला संयोजक कृष्ण सिं बस्न्यातले बताए । गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले उनीहरुलाई दोसल्ला ओडाएर कदर पत्र प्रदान गरेका हुन् ।
कार्यक्रमकै अवसरमा जिल्लाका राष्ट्रिय स्तरका खेलाडीहरु पनि सम्मानित भएका छन् । कराँतेतर्फ मक्करबहादुर गुरुङ, जुडोतर्फ होमबहादुर थापा, भारत्तोलनतर्फ रामकुमार श्रेष्ठ, स्क्वासतर्फ अमृत थापा मगर र सितरियो कराँतेतर्फ बृद्ध लामा पनि सम्मानित भएका हुन् । त्यस्तै बैदेशिक रोजगारबाट फर्किएर स्वेदशमै उद्यम गरिरहेका उद्यमीहरु कुमार गुरुङ, बालकृष्ण अधिकारी, कुलबहादुर खड्का, शम्शेर राना र मदन गुरुङलाई पनि सम्मान गरिएको बताइएको छ ।
रिटर्नी माइग्रेंट नेपाल गोरखाका अध्यक्ष तेजजंग थापाको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संस्थाका गण्डकी प्रदेश सदस्य बस्न्यात, सम्मानित हुनेहरुको तर्फबाट पत्रकार श्रेष्ठ, आप्रवासी संगठन गोरखा नगरपालिका अध्यक्ष इश्वरप्रसाद श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै मेयर रानाले बिदेशमा श्रम गरेर स्वदेश फर्केकाहरुको सिप प्रयोगका लागि बिशेष नीति तथा योजना ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्