| बुधबार, कार्तिक २५, २०८३

उत्तरी गोरखामा पहिरोले पुरिएर एकै परिवारका तीन सहित पाँच जना वेपत्ता

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा पहिरो जाँदा एकै घरपरिवारका तीन जनासहित पाँच जना वेपत्ता भएका छन् । आइतवार बिहान करिव तीन बजे स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एक घर पहिरोले बगाएको हो ।

पहिरोमा पुरिएर जीतबहादुर सहित उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका बुबा ६० बर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ बर्षीय रमेश परियार वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘वेपत्ता हुनेमा एकै घरपरिवारका तीन जना र बाँकी दुई जना त्यही फर्ममा काम गर्ने भन्ने बुझिएको छ,’ प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘प्रहरी र स्थानीय मिलेर उनीहरुको खोजि कार्य भइरहको छ ।’

अन्य दुई जनालाई भने घाइते अवस्थामा उद्धार गरिएको उनले जानकारी दिए । उद्धार हुनेमा सिङ्लाका ३५ बर्षीय दिलिप गुरुङ र २७ बर्षीय थमबहादुर गुरुङ रहेका छन् । उनीहरुमध्ये दिलिपको अवस्था गम्भिर रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिबाट काठमाडौं लाने तयारी भइरहेको डिएसपी श्रेष्ठले बताए ।

उद्धारका लागि थप सुरक्षाटोलि घटनास्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी गराए ।

तस्विर/सुशिल गुरुङ

प्रतिक्रिया दिनुहोस्