| बुधबार, कार्तिक २५, २०८३

करार कर्मचारीको म्याद थप नगर्ने निर्णयप्रति अजिरकोट कांग्रेसको ध्यानाकर्षण

पालिकामा कार्यरत आठ जना करारका कर्मचारीहरुको चालु आर्थिक बर्ष म्याद थप नगर्ने अजिरकोट गाउँपालिकाको निर्णयप्रति नेपाली कांग्रेस अजिरकोट गाउँ कार्यसमितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

पालिकालाई ज्ञापन पत्र बुझाउँदै समितिले कार्यक्षमताको मूल्याकंन नगरी राजनीतिक पूर्वाग्रहका आधारमा कानून विपरित उनीहरुलाई हटाएर आफू निकट कार्यकर्तालाई करारमा नियुक्ती गरेको भन्दै आपत्ति जनाएको छ । नियमानुसार स्वीकृत दरवन्दीमा करार नियुक्ती पाएका अनुभवी जनशक्तिलाई विना शर्त म्याद थप गरि यथास्थान र पदमा कार्य गराउन कांग्रेस गाउँ कार्यसमितिले माग समेत गरेको छ ।

अलोकतान्त्रिक निर्णय सच्याउन आनाकानी गर्ने, करार कर्मचारीलाई गालि गलौज गर्ने तथा हिंसाको राजनीतिको पुनरावृत्ति हुनेगरी व्यवहार प्रदर्शन भै रहेमा त्यसको सशक्त्त प्रतिवाद गर्ने चेतावनी कांग्रेसले दिएको छ । ज्ञापन पत्र मार्फत कांग्रेस गाउँ कार्यसमितिले आर्थिक बर्ष २०७९/८० मा भएको हाते ट्याक्टर खरिद प्रकरण छानविन समितिको प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाही गर्न माग समेत गरेको छ ।

बिभिन्न किर्ते फाइल खडा गरि योजना र कार्यक्रमको नाममा राज्यकोषको रकम निकासा गरिएकोमा छानविन गरि दोषिलाई कारवाही गर्न माग गर्दै समितिले गुणस्तरीय शिक्षाको नाममा अनावश्यक रुपमा प्रतिशोध राखि शिक्षक काज सरुवा गर्ने कार्य बन्द गर्न माग गरेको छ । कर्मचारीमाथि भएको दमनको पनि छानविन गरि दोषिलाई कारवाहीको दायरामा ल्याउन ज्ञापन पत्र मार्फत माग गरिएको छ । पालिकाले गरेको जग्गा वर्गिकरणमा त्रुटी भएको भन्दै त्यसको पुन वर्गिकरण गर्न पनि अजिरकोट कांग्रेसले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्