
चुमनुब्रीको वित्तीय प्रगति जम्मा ५१.१२ प्रतिशत
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को वित्तीय प्रगति जम्मा ५१.१२ प्रतिशत रहेको छ । पालिकाको गाउँसभामा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले उक्त विवरण सार्वजनिक गरेका हुन् ।
उनले प्रस्तुत गरेको विवरणमा पालिकाले चालु आर्थिक बर्षको कुल बजेट (४२ करोड ५४ लाख ८५ हजार)को ५१.१२ प्रतिशत अर्थात २४ करोड १५ लाख ८४ हजार मात्र खर्च गरेको उल्लेख छ ।
चालु (प्रशासनिक) खर्चका लागि पालिकाले २६ करोड १६ लाख ८५ हजार रकम बिनियोजन गरेको थियो । यो रकम कुल बजेटको ६१.५ प्रतिशत हो । चालुतर्फ बिनियोजित रकममध्य पालिकाले ६१.१ प्रतिशत अर्थात १५ करोड ९८ लाख ५९ हजार खर्च गरेको पालिकाको विवरणमा उल्लेख छ ।
पुँजीगत (बिकास निर्माण) तर्फ भने पालिकाले कुल बजेटको ३८.४ प्रतिशत (१६ करोड ३८ लाख) बिनियोजन गरेको थियो । जसको जम्मा ५६ प्रतिशत अर्थात ९ करोड १७ लाख २५ हजार रुपैँया मात्र खर्च भएको बताइएको छ । चालु आर्थिक वर्षमा पालिकाको प्रशासकीय भवन निर्माणका लागि छुट्याइएको २ करोड विविध कारणले ठेक्का प्रक्रियामा लैजान नसकिएकाले पनि पुँजीगत खर्च प्रतिशत कम हुन गएको पालिकाले जनाएको छ ।




