
लाप्राकमा साँढे ११ सय बोट धुपी रोपियो
धार्चे गाउँपालिका ४ लाप्राकमा साढे ११ सय बोट धुपी रोपिएको छ । लाप्राक सांस्कृतिक उत्थान तथा सतिघाँटु संरक्षण समितिको आयोजनामा धुप र धुपी रोपिएको समितिका सचिव प्रसाद गुरुङले जानकारी दिए ।
‘लाप्राकको पुरानो गाउँदेखि गुप्सी पाखाको सेरोफेरोमा साँढे ११ सय बोट धुप र धुपी रोपेका छौँ’, उनले भने, ‘सो क्षेत्रमा धेरै देवीथानहरु छन्, तीनैलाई मध्यनजर राखेर रुख लगाएका हौँ ।’ पुरानो गाउँदेखि गुप्सीपाखा क्षेत्र वरपर २६ वटा देवीथानहरु रहेको उनले बताए । देवीथानको संरक्षणका लागि बृक्षारोपण गरिएको उनको भनाई छ ।
‘देवीथान पुजामा धुपी नभई हुन्न’, उनले भने, ‘पुजाआजा गर्दा पनि प्रयोग हुने अनि थानीको पनि संरक्षण हुने भयो त्यसैले सबैजनाले निर्णय गरेर लगाएका हौँ ।’ धुपीका बिरुवाहरु भने धार्चे स्थित ताराम्चो सामुदायिक वन क्षेत्रबाट ल्याइएको उनले बताए ।
लाप्राकमा प्रचलित सतिघाँटु देवीथानबाट निकालिने प्रचलन छ । धुप र धुपीले सतिघाँटु प्रथामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा पनि यसको संरक्षणमा लाप्राक सांस्कृतिक उत्थान तथा सतिघाँटु संरक्षण समिति जुटेको समितिका सचिव प्रसाद गुरुङ बताउँछन् ।




