
चौर, चौतारा र ठाँटी जगेर्ना गर्दै स्थानीयबासी
पालुङटार नगरपालिका ९ सिस्नेरीवेशीका स्थानीयले गाउँका सांस्कृतिक तथा पुरातात्विक सम्पदाको जगेर्ना गरेका छन् । स्थानीय सरकारसंग सहयोग लिएर, चन्दा संकलन गरेर र जनश्रम जुटाएर गाउँको चौर, चौतारा र ठाँटीको मर्मत, सम्भार गरेका हुन् ।
मगर समुदायको बाहुल्य रहेको सो गाउँमा एकै ठाउँमा सय बर्षभन्दा पुरानो चौतारा, अझै पुरानो चौर र करिब ५० बर्ष पुरानो ठाँटी अवस्थित छ । पुरातात्विक तथा सांस्कृतिक सम्पदा भएकाले यसको जगेर्ना गर्ने प्रयास गरिएको स्थानीयबासीले जनाएका छन् ।
‘हाम्रा गाउँमा प्राचीन ठाँटी, चौर र चौतारा एकै ठाउँमा छ । यस्तो तीनै खालको सम्पदा एकै ठाउँमा हुनु धेरै महत्वपूर्ण कुरा हो । सितिमिति अन्त पाइँदैन’, स्थानीय डम्बर राना मगरले भने, ‘त्यसैले नगरपालिकासंग सहयोग मागेर अनि आफूआफू चन्दा उठाएर अनि श्रमदान गरेर सम्पदाको मर्मतसम्भार गरिएको छ ।’ करिब ५० बर्षभन्दा अघि निर्माण भएको ठाँटी पुनर्निर्माणका लागि पालिकाले पाँचलाख रुपैयाँ सहयोग गरेको उनले बताए ।
गाउँका ६० घरधुरीको जनश्रमदान र स्थानीयबासीबाट पाँच, दस हजारका दरले चन्दा संकलन गरेर भर्खरै ठाँटी पुनर्निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर सुनारी मगरले बताए । ‘गाउँबेशी गर्ने ठाउँमा चौर, चौतारा पनि छ, ठाँटी पनि छ ।
यहाँ मेलापात जाँदा आउँदा थकाइ मार्ने, धान, मकै बोक्दा बिसाउने, गाउँको चाडपर्वमा साँस्कृतिक कार्यक्रम गर्ने काम हुँदै आएको छ’, उनले भने, ‘ठाँटीको काठपात, छानाको जस्तापाता घामपानीले खाएर जीर्ण भएको थियो । चौर पनि पहिरो र बाटो हिँड्दा क्षय भएर साँगुँरिदै गएको छ । त्यसैले नगरपालिकासंग आर्थिक सहयोग माग्यौँ । गाउँमा चन्दा पनि संकलन ग¥यौँ । अनि श्रमदान पनि गरेर तीनवटै सम्पदाको मर्मत सम्भार गरेका छौँ ।’
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएको पैसाले चौरको मर्मतसम्भार गरेको उनले बताए । ‘अझै सबै काम सकिएको छैन । आउँदो बर्ष पनि यसरी नै सहयोग जुटाएर बाँकी काम गर्नेछौँ’ उनले भने । चौर, चौतारा ठाँटीपाटी गाउँको सांस्कृतिक तथा पुरातात्विक सम्पदा भएकाले यसको जगेर्ना गर्नु गाउँलेको कर्तव्य रहेको उनले बताए ।




