| मङ्लबार, कार्तिक २४, २०८३

भुक्तानी नहुँदै बज्न छाड्यो राष्ट्रनिर्माता सलामी धुन्, सेना भन्छ नगरपालिकाको जिम्मा हो, नगरपालिका भन्छ सेनाको काम हो !

प्रतिक्षा आले मगर । पर्यटन विकास गर्ने उद्देश्यले गोरखा सदरमुकामको ठूलोआँगनको माझमा पृथ्वीनारायण शाहको सालिक ठड्याइयो । र गोरखा दरबारमा धेरै ठूलो क्षमताको माइक राखी त्यसमा राष्ट्र निर्माता सलामी धुन बजाएर ठूलोआँगनको पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता सलामी दिन थालियो ।

२०७९ साल पुष २७ गते पृथ्वी नारायण शाहको ३०१ औँ जन्मजयन्तीको अवसर पारेर नेपाली सेनाले ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यक्रम शुभारम्भ गरेको थियो । हरेक दिन सूर्योदय र सूर्यास्तमा सेनाले सो सालिकमा राष्ट्रनिर्माता सलामी दिने चलन चलाएको थियो । नेपाली सेनाको पृथ्वी नारायण शाहकालीन सेना (गुरुज्यू) को पल्टनले सलामी अर्पण तथा परेड गर्दै आइरहेको थियो । तर, आजभोलि सलामी मात्र हुन्छ, गोरखा दरबारमा बज्ने सलामी अर्पणको धुन बज्न छाडेको छ ।

सो सालिक निर्माण तथा राष्ट्रनिर्माण सलामी कार्यक्रमको चाँजोपाँजो गोरखा नगरपालिकाको सहयोगमा नेपाली सेनाले गरेको थियो । तर अहिले सो धुन बज्न छोडेको छ । राष्ट्रनिर्माता सलामी कार्यक्रम सुरु भएको डेढवर्ष नबित्दै सलामी अर्पण धुन बज्न छाडेको हो । झन्डै दुईमहिना देखि धुन बज्न छाडेको स्थानीयहरुको गुनासो छ । प्राविधिक समस्याका कारण धुन बज्न नसकेको रिपुमर्दन गणका प्रमुख सेनानी अशोक कुमार क्षेत्रीले जानकारी दिए ।

‘साउन्ड सिस्टममा समस्या आएका कारण करिब दुई महिनादेखि सलामी धुन बज्न सकेको छैन’, उनले भने, ‘मर्मतका लागि गोरखा नगरपालिकासँग पहल गरिहेका छौँ ।’ राष्ट्रनिर्माता सलामी अर्पण कार्यक्रमको आर्थिक व्यवस्थापन गर्ने जिम्मेवारी गोरखा नगरपालिकाको रहेको उनले बताए । ‘मर्मतको काम नगरपालिकाको हो, सेनाले त संचालन मात्र गरिदिने हो’, क्षेत्रीले भने ।

यता गोरखा नगरपालिकाले भने आफुहरुलाई यस विषयमा जानकारी नै नभएको बताएको छ । गोरखा नगरपालिका प्रमुख कृष्ण राना भन्छन्, ‘राष्ट्रनिर्माता सलामीको काम सेनाको हो, तर उहाँहरुले काम गरिसकेपछि हामीसँग पैसा माग्नु हुन्छ ।’ साउन्ड सिस्टम मर्मतको काम सेनाको रहेको उनले बताए ।

नगरपालिकाले साउन्ड सिस्टम लिए बापतको रकम अहिलेसम्म पनि भुक्तानी नगरेको सो साउण्डसिस्टम जडान गरेका व्यवसायी हरिहर श्रेष्ठको आरोप छन् । ‘कार्यक्रम सुरु भएको यत्तिका समय बितिसक्ता समेत अहिलेसम्म साउन्ड सिस्टम जडान गरेबापतको रकम भुक्तानी पाएको छैन’, उनले भने, ‘सेनालाई भन्यो भने नगरपालिकालाई भन् भन्छ नगरपालिकामा गयो कुरा नै टुङ्गो लगाउँदैन । भुक्तानी पाउँ भनेर अदालतमा मुद्दा दिएको छु ।’

यसअघि साउन्ड सिस्टम बिग्रदा समेत आफैले पैसा खर्च गरेर मर्मत गरिदिएको उनले बताए । ‘यसअघि बिग्रदा मैले हाम्रै सम्पदा हो भनेर मर्मत गरिदिएको मात्र हुँ’, उनले भने, ‘नत्र त मैले आफैले लिनु पर्ने पैसा समेत पाएको छैन । झन मर्मत कसरी गरुँ ?’ संरक्षकले संरक्षण नगरेका कारण यस्तो समस्या आएको उनले बताए । दिगो योजना नबनाई लोकप्रियता कमाउने मात्र उद्देश्यले काम गर्दा यस्तो हुन गएकोे उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्