
दिवा खाजा चेपाङ बालबालिकाका लागि बरदान सावित
बिहानै घरमा भरेर गएको पेट दिउसो एकबजे, दुईबजेबाट खालि हुदै गएपछि प्रजावस्ती आधारभूत विद्यालयका विष्णु चेपाङलाई पढाइतिर भन्दा भोकतिर ध्यान जान्थ्यो । पढाइ लेखाइको रापभन्दा खालि पेटको तापले तनाब दिन्थ्यो ।
‘खाजा खान नपाएको भए हाम्रो ध्यान भोकतिर जान्थ्यो’, उनले भने, ‘पेटभरि खाजा पाएपछि ध्यान पढाइतिर जान्छ । खाजाले गर्दा स्कूल पनि धेरै आउँछन् ।’ विष्णुको मात्र होइन, यो अवस्था प्रजाबस्ती आधारभूत विद्यालयमा पढ्ने १२५ जना सबैको मनोविज्ञान हो । तर जब सरकार र सामाजिक संघसंस्थाले स्कूलमै पेटभरि खाजा खुलाउन सुरु गरे, तब त्यहाँका विद्यार्थीको तनाब समाप्त भयो ।
चेपाङलाई अर्को शव्दमा प्रजा पनि भन्ने गरिन्छ त्यसैले करिब तीनसय घरधुरी प्रजा(चेपाङ)को बस्तीमा खुलेको यस विद्यालयको प्रजाबस्ती आधारभूत विद्यालय भनेर नाम राखियो । ‘यहाँ अहिले कक्षा आठसम्म सञ्चालित छ’, शिक्षक यानमाया चेपाङ भन्छिन्, ‘यस विद्यालयमा अहिले करिब एकसय २५ जना विद्यार्थी पढ्छन् । सबै विद्यार्थी चेपाङ समुदायकै हो ।’
घरमा पेटभरि खान नपाउँदा यहाँका चेपाङ बालबालिका दिउसो भोकको राँकोले जलेको देखेपछि चेपाल चेपाङ संघले यहाँका सबै बालबालिकालाई दिवा खाजाको प्रवन्ध गरेको उनको भनाइ छ । ‘यहाँको बालबालिकाको अबस्था देखेपछि चेपाङ संघले २०७२ सालभन्दा अघिदेखि खाजाको व्यवस्था गरिदियो’, शिक्षक चेपाङ भन्छिन्, ‘२०७२ सालपछि यहाँ अर्को एक सामाजिक संस्था करुणा फाउण्डेशन आयो ।
त्यसले चेपाङ संघसंग हातेमालो ग¥यो र यहाँ दुईवटा विद्यालय भवन बनाइदियो । खाजा कार्यक्रममा पनि साथ दियो ।’ साथै यहाँका महिलाहरुलाई सिलाइबुनाइ तालिम दिएर उनीहरुले बनाएको झोला तथा अन्य सामग्री विदेश पठाउने व्यवस्था मिलाइदिएको उनको भनाइ छ ।
बिगत तीनबर्षदेखि कक्षा १ देखि पाँचसम्मका बालबालिकालाई खाजाको व्यवस्था गाउँपालिकाले नै गर्न थालेको छ । कक्षा ६, ७ र ८ का लागि करुणामय फाउण्डेशनले व्यवस्था गरेको उनले बताइन् । खाजा कार्यक्रम चेपाङ बालबालिकाका लागि धेरै नै प्रभावकारी भएको छ ।
गरिबीले ग्रस्त चेपाङ बालबालिका घरमा काम चलाउ मात्र खाएर स्कूलमा पेटभरि खाजा पाउने आशामा नियमित आउने शिक्षक ज्ञानेन्द्र सुनार बताउँछन् । ‘यहाँको गरिबी र अभावको अबस्था सबैलाई थाहै छ । घरमा नूनखुर्सानीसंग दुईगाँस टिपेर आएका हुन्छन् ।
हरेक बार थरीथरीको खाजा पाउने हुँदा बालबालिकाहरु रमाएर स्कूल आउँछन्’, शिक्षक सुनार भन्छन्, ‘चेपाङ समुदायमा खाजा कार्यक्रम अति प्रभावकारी भएको छ ।’ खाजा कार्यक्रम गरिब, विपन्न चेपाङ समुदायका बालबालिकाका लागि बरदान सावित भएको उनको भनाइ छ ।




