| मङ्लबार, कार्तिक २४, २०८३

रोपाई गरेर मनाइयो २१ औँ धान दिवस

२१ औँ धान दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । शनिवार जिल्लाको बिभिन्न ठाउँमा रोपाइ कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । दिवसको अवसरमा गोरखा नगरपालिका–१० छेवेटारस्थित बरबरे फाँटमा कार्यक्रम गरी रोपाई गरिएको छ ।

गोरखा नगरपालिका र कृषि ज्ञान केन्द्रको आयोजना तथा तथा छेवेटार कृषि सहकारीको व्यवस्थापनमा कार्यक्रम भएको हो । कार्यक्रममा महिला र पुरुष दुवै तर्फ हिले दौड, डोरी तान्ने खेल, म्यूजिकल चियर, इन आउट लगायतका प्रतियोगिताहरु भएको वडा नम्वर १० का अध्यक्ष प्रदिप कुँवरले बताए ।

सहकारीका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख लिला परियार, नगर उपप्रमुख मसलीमाया थोकर, कार्यालय प्रमुख, जनप्रतिनिधी, स्थानीय लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा किसानहरुले सिंचाइ अभावका कारण कतिपय खेतमा रोपाइ गर्न नपाइएको गुनासो गरेका थिए ।

त्यस्तै शहिद लखन गाउँपालिका–८ माझबारीमा पनि रोपाइ कार्यक्रम भएको छ । सन्तानेश्वर कृषि सहकारीको आयोजना, पालिकाको समन्वय र कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । दिवसको अवसरमा सिरानचोक, अजिरकोट, गण्डकी लगायतका स्थानीय तहमा पनि रोपाई कार्यक्रम भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्