
कृषि तालिम तथा जैविक मल वितरण कार्यक्रम सम्पन्न
गोरखा नगरपालिका वडा नं ११ मा कृषि तालिम तथा जैविक मल वितरण कार्याक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा संचालित कार्यक्रम शनिबार एक कार्याक्रमका बीच सम्पन्न भएको छ । रासयनिक मल र विषादीको प्रयोगलाई विस्थापित गर्ने उद्देश्यसहित कार्यक्रम संचालन गरिएको वडा नं ११ का वडाअध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।
‘अहिले देशव्यापी रुपमा रसायनिक मल र विषदीको प्रयोग बढ्दो छ’, उनले भने, ‘रासयनिक मलले माटोको उर्वरा शक्ति नष्ट गर्छ, त्यसैको राकथाम गर्नका लागि वडाबासीलाई तालिम प्रदान गरिएको हो ।’ तालिममा वडाको १७ वटा टोलबाट ३४ जनाले सहभागिता जनाएको उनले बताए । तालिममा जैविक मलको महत्व र यसलाई बनाउने विधिका बारेमा प्रशिक्षण गराईएको उनले जानकारी दिए ।
‘तालिम समापनका दिन शनिबार वडाभित्रका सबै घरधुरीलाई जैविक मल वितरण गरिएको छ’, उनले भने, ‘वडाबासीले प्रयोग गर्दै आएको खेती योग्य जमिनका आधारमा १२ किलोदेखि २५ किलोसम्म वितरण गरेका छौँ ।’ वडाको १० लाख बरावरको मल वितरण गरेको उनको भनाई छ ।
यसैगरी, गोरखा नगरपालिका वडा नं ११ को कार्यालयले १५ असारको अवसर पारेर वडाभित्रका जेष्ठ नागरिक, एकल महिला, दलित तथा विपन्न बालबालिका गरी ६५ जनालाई सम्मान गरेको छ । कार्यालयले दही चिउरा खुवाएर उनीहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रमकै अवसर पारेर पोषण समेत वितरण गरिएको वडा अध्यक्ष राम बहादुर खड्काले जानकारी दिए ।
‘समाजमा पछि परेका वर्गहरुलाई समेटेर सम्मान तथा पोषण वितरण कार्याक्रम गरेका हौँ’, उनले भने, ‘कार्याक्रम संचालनका लागी वडाले २ लाख रुपैँया बजेट नै बिनियोजन गरेको थियो ।’ वडा अध्यक्ष लगायत वडाका अन्य पदाधिकारीहरु अपाङ्ग एवं जेष्ठ नागरिकहरु भएका घर–घरमा पुगेर घरका अन्य सदस्यहरुलाई अपाङ्ग एवं जेष्ठ नागरिक मैत्री कोठा निर्माण गरिदिन समेत आग्रह गरेको उनले बताए ।




