| मङ्लबार, कार्तिक २४, २०८३

खाद्य क्लष्टर इकाइको प्रगति प्रतिवेदन सार्वजनिक

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाइ गोरखाले आफ्नो प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीवार आयोजना समापन गोष्ठीको अवसर पारेर कार्यालयले छ बर्षको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।

गोरखाको गण्डकी र बारपाक सुलिकोटसहित धादिङको बेनिघाट र रोराङ गाउँपालिकामा आयोजना लागू भएको थियो । कृषि, पशुपन्छी र पोषणको क्षेत्रमा काम गरिएको कार्यालय प्रमुख एवं बरिष्ठ कृषि अधिकृत केशव देवकोटाले बताए । ‘पाँच बर्षका लागी भनेर २०७५÷७६ देखि आयोजना लागू भएको हो,’ उनले भने, ‘कोभिडको दुई बर्ष काम हुन सकेन त्यसैले अहिले एक बर्ष थप भएर २०८०÷८१ सम्म आयोजना लागू भएको हो ।’

कृषकहरुको समूह बनाएर उनीहरुलाई कृषि, पुशपंक्षी र पोषणाका कार्यक्रममा ८५ प्रतिशत अनुदान दिइएको उनले जानकारी दिए । उनका अनुसार चार पालिकाका किसानलाई अनुदानमा कृषि उपकरण (चाप कटर, तौलने मेसिन, खसी पार्ने मेसिन, माइक्रोसकोप, स्टिल क्यान) मल्टिप्लायर हर्ड र बयर बोका वितरण गरिएको छ । बारपाक सुलिकोटमा दुई वटा र गण्डकी गाउँपालिकामा तीन वटा तरकारी संकलन केन्द्र निर्माण भएका छन् ।

त्यस्तै आयोजनाले किसानहरुलाई मकै, गहुँ, आलु, धान लगायतका बिउ पनि वितरण गरेको छ । हालसम्म पोषण समूहमा करिव ६० हजार वटा आठ हप्ते गिरीराज कुखुरा चल्ला वितरण भएको देवकोटाले बताए । कुखुरा र बाख्राको खोर निर्माणसँगै ५० प्रतिशत वयर बोका समेत वितरण गरिएको उनले जानकारी दिए । ‘गण्डकीमा ५८५ वटा कुखुराको खोर र ५३० वटा बाख्राको खोर निर्माण भयो,’ उनले भने, ‘बारपाकमा ६०४ वटा कुखुराको र ६३७ बाख्राको खोर निर्माण गरियो ।’

प्लाष्टिक घरभित्र बेमौसमी तरकारी खेती उत्पादन प्रवद्र्धनमा पनि आयोजनाले सहयोग गरेको उनको भनाइ छ । आयोजनाले साना सिंचाइ कार्यक्रम अन्तरगत कुलोहरु पनि निर्माण गरेको छ । आयोजना अन्तरगत कृषक र पोषण पाठशाला समेत संचालन भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिसस उपप्रमुख लिला परियार, बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट, सम्बन्धित कार्यालयका प्रमुख लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्