
डुबान क्षेत्रमा बजेट छैन, मक्किएर भाँचिएको जोखिम पुल तर्दै घाटबेशीका बासिन्दा
मेलिना बराम ।
गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं. ८ घाटबेशी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ बुटार जोड्ने बुढीगण्डकीमाथि रहेको काठको झुलुङ्गे पुल निकै जीर्ण अवस्थामा रहेको छ । पुलको फलेकहरु मक्किएर, कुहिएर भाँचिन सुरु गरेका छन् । आवतजावत गर्नका मक्किएको, भाँचिएको फलेकहरु छन्, जसको ठाउँठामा सा–साना लौरो राखेर छोपछाप पार्ने प्रयास गरिएको छ । पुलको बिमहरु पनि कुहिन थालेका छन् । कुहिएका बिमहरु भाँचिएर कुन बेला अप्रिय घटना घट्ने हो, थाहा छैन ।
यो पुल घाटबेसी र बुटारका स्थानीय आवतजावत गर्ने मुख्यमार्ग भएको स्थानीय एवम भूमिस्थान टोल विकास समितिका अध्यक्ष रामेश्वर तिमिल्सिना बताउँछन् । बुटारका ५० प्रतिशत स्थानीयहरु सोही पुल हुँदै खेती गर्न घाटबेशी आउँछन् । गाउँमा बोर्डिङ स्कुल नभएकाले घाटबेशीका बालबालिकाहरु पढ्नका लागि त्यही जोखिम पुलबाट बुटार पुग्छन् ।
बूढीगण्डकी डुबानक्षेत्र भएका कारण पुलको कुनै पनि मर्मत सम्भारको काम हुन नसकेको तिमिल्सिनाले बताए । पुल मर्मतको लागि बजेट माग गर्दा डुबान क्षेत्र भनेर टार्ने गरेको उनले गुनासो गरे । ‘पुल मर्मत गर्नुप¥यो भनेर बजेट माग्न जाँदा डुबान क्षेत्र भनेर टार्दिन्छन्’, तिमिल्सिना भन्छन्, ‘विभिन्न ठाउँहरुमा डुबान क्षेत्र पर्दा पनि बिकास निर्माणको काम भइरहेको छ,, यहाँचाहिँ नयाँ विकासको काम पनि हुदैन, बिग्रेभत्केको ठाउँमा मर्मत सम्भार पनि किन हुदैन ।’
पुल जीर्ण हुनाले निकै जोखिमी सहेर वारपार गर्नु परेको उनी सुनाउँछन् । ‘डुबान क्षेत्र भनेको छ, न आयोजना बन्छ, न विकास निर्माणको काम हुन्छ । हामीलाई त साह्रै बेहाल छ,’ उनले भने, ‘आयोजनाको अहिलेसम्म कुनै प्रगति भएको छैन । बिसौँ वर्षसम्म हामी यहीँ बस्न पर्ने होला, अनि डुबान क्षेत्र भनेर हामीलाई किन पछाडि पारिएको हो ?’ ०५६/०५७ साल तिर बनेको ९० मिटर लामो सो झोलुङ्गे पुल अहिलेसम्म दुई पटकमात्रै मर्मत सम्भारको काम गरिएको उनले जानकारी दिए ।
पुल जिर्ण भएको भन्दै पालिकाबाट पनि दुई चोटीसम्म सर्भेको काम भई सकेको तर कुनै काम भने नभएको अध्यक्ष तिमिल्सिना बताउँछन् । ‘पालिकाबाट दुई चोटीसम्म सर्भे गर्न प्राविधिक टोलीहरु आउनु भयो,’ उनले भने, ‘एउटा टोलीले लठ्ठाले धान्दैन भनेर जानुभयो, अर्को टोली आएर हेर्न आए, तर फर्किएर आएनन् ।’ पुल नभएको खण्डमा सानो कामको लागि पनि ३, ४ घण्टाको बाटो हिँडेर आरुघाट बजार पुग्नु पर्ने बाध्यता रहेको उनले बताए । ‘पुलको अवस्था यस्तो छ, डुबान क्षेत्रमा बजेट हाल्नु हुन्न भन्छन्, हामीलाई कति संकट छ कस्ले बुझिदिने ?’ उनले भने ।
दुई वर्ष अघि गाउँको टोल टोलबाट काठ उठाएर पुलको फलेक फेरिएको अर्का स्थानीय रामचन्द्र कुमालले बताए । ती फेरिएका फलेकहरु पनि भाँचिन थालेको उनी बताउँछन् । दुरी छोट्याउन स्थानीय सोही पुलबाट मोटरसाइकलमा पनि यात्रा गर्ने गर्छन् । भिमसेन थापा गाउँपालिका वडा नं. ४, ७ र ८ का आधा जति स्थानीय सामाजिक सुरुक्षा भत्तादेखि अन्य बैकिङ सुविधान लिन घाटबेशी पुल हुँदै धादिङको बुटार जान्छन् ।
‘घ्याम्पेसाल जान टाढा पर्ने भएर यहाँका आधा जति मान्छे बैकिङ सेवा सुविधा लिन बुटार जान्छन्,’ उनी भन्छन्, ‘हामीलाई सास्ती हुने भएर मेगा बैंक र पालिकाहरुको समझदारीमा धादिङबाटै सेवा लिन्छौं ।’ पुलको बिमहरु सबै कुहि सकेकाले वृद्धवृद्धासहित अन्य स्थानीयलाई आवतजावतमा निकै समस्या हुने गरेको कुमालले बताए । ‘विकल्पमा अर्को बाटो छैन, रहरले होइन बाध्यताले ज्यान जोखिममा राखेर पुलको बाटौ हिड्नु पर्छ’ उनले भने । पालिकामा पुल र्ममतका लागी बजेट माग्न जादाँ हप्काएर पठाउने गरेको उनी बताउँछन् ।




