
अठारसय खोलामा खच्चड कहर
शिव उप्रेती ।
धार्चे गाउँपालिका ३ खोर्लावेशीका प्रदीप खत्री १४ वटा खच्चड धपाउँदै भोटखोलातिर उकालिँदै थिए । बाटोमाथिको भीरबाट ठूलो ढुंगा लडीबुडी खेल्दै आफैमाथि आइपुग्यो । ‘चिउरीभीरबाट घरभन्दा नि ठूलो ढुंगो गुडुल्किँदै मैमाथि आइपुग्न लागेको एक्कासी देखेँ’, घटना सम्झँदै उनी भन्छन्, ‘अरु कुरा सोच्नै भ्याइन, सोझै बूढीगण्डकीमा हाम्फालेँ । ढुंगो बाटोमै अड्किएछ । मैले बूढीगण्डकीको फेदको ढुंगो समात्न पुगेँ ।
अनि हल्काले छेउमा फाल्दियो र बाँचेँ ।’ उनी बाँचे पनि उनको परिबार पाल्ने खच्चड भने बाँच्न सकेनन् । ‘केही दिनपछि पहिरो पन्छ्याउन जाँदा देखेँ, चारवटा खच्चड त अचार भएछन्’, उनी भन्छन्, ‘खच्चड त हामीलाई पाल्ने हाम्रो परिबार जस्तै हो । एउटा खच्चडको एकलाख २० हजार भन्दा धेरै पर्छ । चार वटा खच्चड मरे । तिनीहरुले बोकेका सामान नोक्सान भयो । अठारसय खोलामा खच्चड धपाउनेलाई नि गाह्रो छ, खच्चड पाल्नेलाई पनि धेरै गाह्रो छ ।’

तीनबर्षअघिको यो घटनाले उनलाई मानसिक रुपमा र आर्थिक रुपमा पनि धेरै गम्भीर असर ग¥यो । अहिलेसम्म उनको मन, मस्तिष्कमा आलै छ । बेलाबेला झल्झली आइरहन्छ । बाटोघाटोको सुविधा नभएको दूरदराजको ढुवानीको प्रभावकारी साधन मानिने खच्चड व्यवसायलाई राज्यले चिन्दैन । भोटखोलाका बासिन्दाको भान्सामा नून, चामल पु¥याउने खच्चड व्यवसायको चुनौती र जोखिमीलाई सरकारले जान्दैन । नागरिकहरुले स्वस्फूर्त रुपमा सञ्चालनमा ल्याएको खच्चड व्यवसायमा हुने यस्ता घटना कुनै चर्चाको विषय पनि बन्दैन ।
अठारसयखोलामा खच्चड हिँडाउने काम असाध्यै जोखिम रहेको तर यसको कुनै चर्चा, परिचर्चा, लेखाजोखा नहुने र राज्यको नजरमा पनि नपर्ने गरेको अर्का खच्चड व्यवसायी ऋषि थापा मगर बताउँछन् । ‘दुईबर्षअघि गाउँपालिकाको केन्द्र फिलिम जोड्ने झोलुङ्गेपुलबाट बहादुर गुरुङको ११ वटा खच्चड खसे । पाँचवटा खच्चड मरे’, उनी भन्छन्, ‘हाम्रो अठारसय खोलामा सात, आठसय खच्चड हिँड्छन् । कहिले भीरबाट लडेर, कहिले पुलबाट लडेर, कहिले पहिरोमा पुरिएर, कहिले भीरबाट खसेको ढुंगा लागेर खच्चड नमरेको बर्षै छैन ।
एकबर्षमा कम्तिमा पनि २०, २५ वटा खच्चड यसरी मर्छन् ।’ भोटखोलाका जनताको सेवा गर्ने खच्चड हिड्ने सुरक्षित बाटो बनाउने बारेमा सरकारको ध्यान नगएको भन्दै उनले गुनासो गरे । ‘अब बर्खा लाग्र्दछ । बूढीगण्डकीको बाढी पहिरोको पर्वाह नगरी खच्चड हिँडाउनु पर्छ । बाढी, पहिरोमा डराएर खच्चड हिँड्न मान्दैनन्, तैपनि जबर्जस्ती नहिँडाइ हुदैन’, खच्चड व्यवसायी समितिका कोषाध्यक्षसमेत रहेका थापा भन्छन्, ‘उता भोटखोलाका मान्छेको घरघरमा नून, चामल नपु¥याए हातमुख जोर्न समस्या, हामीलाई दुईचार पैसाको कमाइको पनि बाटो ।
त्यसैले बाध्य भएर पनि जोखिम मल्दै खच्चड हिडाउनु पर्छ ।’ स्थानीयबासी हिँड्ने बाटो पनि खच्चड व्यवसायीले नै बनाउने गरेको उनले बताए । भोटखोलामा बाढी, पहिरोले बिगारेको बाटो खच्चड व्यवसायीले नै बनाउँदै हिँड्दै गर्ने उनको भनाइ छ । ‘सार्वजनिक सेवाको काम सरकारले गर्नुपर्ने हो, तर खच्चड व्यवसायी आफैले बाटो बनाएर अबरोध भएको बाटो खुलाउने गरेका छौँ’, उनले भने । बाध्य भएर जोखिम मल्नु परेको उनको भनाइ छ ।





