| मङ्लबार, अशोज १२, २०८३

दोस्रो सीतादेवी कप सुरु

सिरानचोक गाउँपालिका वडा नं. ८ धारापानीमा दोस्रो सीतादेवी कप फुटबल प्रतियोगिता सुरु भएको छ । डि.सी युनाइटेड क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका बीच पूर्व सांसद प्रकाशचन्द्र दवाडीले उद्घाटन गरेका हुन् ।

सीतादेवी कपमा आयोजक टिमसहित २७ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष नविन लामाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ७० हजारसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । द्वितीय हुने टिमले नगद ४० हजारसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए ।

उनका अनुसार तृतीय र सान्तवना हुनेलाई भने कुनै पुरस्कारको व्यवस्था गरिएको छैन । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई मेडलको व्यवस्था रहेको क्लबले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलकर्ता र गोलकिप्परलाई पनि ट्रफीको व्यवस्था गरिएको अध्यक्ष लामाले बताए ।

प्रतियोगिताको दर्ता शुल्क ६ हजार रुपैँया रहेको छ । पूर्व सांसद दवाडीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेका छन् । साथै उनले सीतादेवी आमा समूहलाई पनि नगद ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

क्लबका अध्यक्ष लामाको अध्यक्षता तथा पूर्व सांसद प्रकाश चन्द्र दवाडीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष दलमान गुरुङ र वडा नं. १ की वडाध्यक्ष मनिता गुरुङले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्