| मङ्लबार, कार्तिक २४, २०८३

राष्ट्रिय परिचयपत्रका लागि सास्ती खेप्दै वृद्धवृद्धा

मेलिना बराम ।
अजिरकोट गाउँपालिका ५ भच्चेक की ८० बर्षकी निरमाया तामाङ राष्ट्रिय परिचय पत्र बनाउन भनेर घरबाट बिहान ७ बजेको बसमा सदरमुकामका लागि हिडिन् । उनी साढेँ ९ बजेतिर गोरखा बजार आइपुगिन् । निरमाया काम नबन्ने होकी भन्ने पीरले १० बजे नै जिल्ला प्रशासन कार्यालको राष्ट्रिय परिचय पत्र बनाउने कोठाको झ्यालमा पुगिन् । उनी त्यहाँ पुग्दा आफ्नै उमेरका वृद्धवृद्धाको धेरै नै भीड भईसकेको थियो । उनी पनि त्यही लाइनमा उभिएर पालो कुर्न लागिन् ।

सबा १२ बजे सम्म उनी लाइनमा नै थिइन् । थकाइ र गर्मीले हायलकायल भएपछि उनी लाइन छाडेर बेञ्चमा बस्न पुगिन् । उनलाई राष्ट्रिय परिचय पत्र बनाउने प्रक्रियाबारे केही जानकारी थिएन । निरमायाको साथी आएका उनका छोरा यसबारे विभिन्न कोठाहरुमा सोधपुछ गर्दै थिए । उनी भने छोराले अहोर दोहोर गरेको हेरिरहेकी थिइन् ।

८० वर्षको उमेरमा राष्ट्रिय परिचय पत्र बनाउन सदरमुकाम धाउँदा धेरै नै सास्ती भएको उनको गुनासो थियो । ‘खै कुन्नी के हो पत्र बनाउन पर्नी रे त नि बा ! त्यहीँ बनाउन आको’, उनले भनिन्, ‘त्यो नबनाई पिन्सिन(वृद्धभत्ता) नपाइने भन्दारैछन्’, उनी भन्छिन्, ‘बुढाबुढी मान्छेलाई यस्तो दुःख मात्रै दिन्छन् । आउँदा त बसमै आको हो । अब यति बेलासम्म पनि काम नबनेर छोरा यता उता हिँडिरहेको छ । खै कति खेर पो काम बन्ला । अबेला भएर बस छुट्यो भने ट्याक्सी रिजप लिएर जानु पनी होला । दुख पनि खर्च पनि ।’

गोरखा नगरपालिका वडा नं. ७ डण्डी डाँडाकी ६६ वर्षीया विभा सार्की वडाले दिएको सिफारिस हातमा लिएर राष्ट्रिय परिचयपत्र बनाउन कता जाने भन्ने अलमलमा भेटिइन् । बिहान १० बजे नै प्रशासनमा आइपुगेकी उनलाई त्यहाँको प्रक्रिया बुझाईदिने सहयोगी पनि कोही थिएन । गर्मीले आतिएर घरी बाहिर घरी भित्र दौडधुप गर्दागर्दै उनी रिंङ्टा लागेर हुत्तिँदै थिइन् । आफ्नो पालो कतिबेला आउँछ भनेर कुरी बस्ने कसैलाई पनि उनलाई कुरो बुझाइदिने फुर्सद थिएन ।

धेरै दौडधुपपछि उनी परिचयपत्र बनाउने कोठाभित्र त छिरिन्, तर फर्कँदा निराश भएर रन्थनिदै निस्किइन् । सिफारिसको सिरानमा लेखिएको नम्बर मिलेको छैन भनेर फर्किनु परेको उनलाई अब नम्बर सच्चाउन कता जाने भन्ने बुझाइदिने पनि कोही भएनन् । गर्मीले रिङ्टा लागेर आत्तिएकी उनलाई कसैले नंबर सच्याउन वडा कार्यालय जान भनी सुझाव दिए । उनी फर्किइन् ।

१० बजेदेखि लाइनमा उभिएका आरुघाट गाउँपालिका १ का ७७ वर्षीय नरबहादुर विश्वकर्मा १ बज्न लाग्दा पनि पालो पर्खिरहेका थिए । राष्ट्रिय परिचय पत्र नबनाए भत्ता नपाउने भनेपछि बनाउन आएको उनले बताए । ‘भत्ता पाउन राष्ट्रिय परिचय पत्र बनाउनै पर्ने भनेका छन्’, उनी भन्छन्, ‘सरकारले भत्ता त दियो, तर यस्तो सास्ती पनि दियो । हामीभन्दा बुढाबुढी मान्छेहरु पनि छन् । हिड्न नसक्नेहरु पनि छन् । रोगीहरु पनि छन् । सरकारले के बिचल्ली पारेको होला यस्तो ?’

जिल्ला प्रशासन कार्यालयमा आजभोलि यस्तै दृश्य बग्रेल्ती देखिन्छ । वृत्तभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिबार्य गरेपछि ज्येष्ठ नागरिकहरु कोही बोकिएर, कोही सहयोगीले तातेताते गराउँदै, कोही ट्याक्सी रिजर्भ गरेर प्रशासन कार्यालय आइरहेका छन् । ‘लु’ लाग्ला जस्तो गर्मीमा उनीहरु तड्पिदै लाइनमा बसिरहेका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्