| मङ्लबार, कार्तिक २४, २०८३

दुई गोरखाली युवा एक महिनादेखि तिब्बती प्रहरीको नियन्त्रणमै

उत्तरी गोरखाका दुई युवाहरु एक महिनादेखि तिब्बती प्रहरीको नियन्त्रणमै छन् । एक महिनाअघि तिब्बती प्रहरीले नियन्त्रणमा लिएका चुमनुब्री गाउँपालिका ७ साविक छेकम्पार गाविस छुले गाउँका कर्मा छेतेन र लामागाउँका कर्मा राप्के अझै नियन्त्रणमै रहेको वडाअध्यक्ष टासी दोर्जे लामाले जानकारी दिए ।

अन्दाजी ३० बर्षका दुई युवा कुन कसुरमा नियन्त्रणमा लिइएको हो, भन्ने बिषय अज्ञात रहेको उनले बताए । ‘उनीहरु यार्सागुम्बा टिप्न लेकमा गएका थिए । तर अचानक हराए’, उनले भने, ‘धेरै दिनपछि पो एकजना छिमेकीलाई फोन गरेर उनीहरु प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिएछन् ।’ उनीहरु कुन कसुरमा समातिएका हुन् र उनीहरुको अबस्था के छ केही थाहा नपाएको वडाअध्यक्ष लामाले बताए ।

युवाहरुको अवस्था अज्ञात रहेपछि उनीहरुका परिबार, इष्टमित्रहरु चिन्तित छन् । लामो समयदेखि युवाहरु तिब्बती प्रहरीको नियन्त्रणमा रहेपछि सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईले उनीहरुको अबस्था बारे बुझ्न पराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले दुई युवा तिब्बती सुरक्षाकर्मीको नियन्त्रणमा रहेको र उनीहरुको अबस्था बारे केही जानकारी नआएकाले बुझ्न आग्रह गरेका हुन् ।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पनि यस घटना बारे आफूले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसित छलफल गरेको बताएका छन् । ‘मैले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको छु । कुटनीतिक माध्यमबाट समन्वय गरिदिनु हुन भनेर अनुरोध गरेको छु’, पक्राउ परेका युवाहरुकै गाउँका बासिन्दासमेत रहेका उनले भने, ‘मन्त्रीज्यूले कुटनीतिक तहबाट समन्वय गराउँछु भन्नु भएको छ ।’ तिब्बती पक्षबाट ती युवाहरुको बिषयमा थप केही जानकारी नआएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्