
मनसुनजन्य विपदको पूर्व तयारीका लागी नेपाली सेनाको ‘अभ्यास मनसुन’ कार्यक्रम
मनसुनजन्य विपदको पूर्व तयारीका लागि भन्दै नेपाली सेनाले जिल्लाको बिभिन्न पालिकामा सचेतनामूलक कार्यक्रम संचालन गरेको छ । गोरखा नगरपालिका र सिरानचोक गाउँपालिकाको बिभिन्न वडामा ‘अभ्यास मनसुन’ कार्यक्रम संचालन गरिएको नेपाली सेनाको रिपुमर्दन गणले जनाएको छ ।
‘मनसुन सुरु हुनुअघि जोखिमयुक्त क्षेत्रलाई फोकस गरेर नेपाली सेनाले सचेतना कार्यक्रम संचालन गर्ने गर्छ,’ सह–सेनानी रबिरबिक्रम राणाले भने, ‘त्यही अन्तरगत पालिकाका बिभिन्न वडामा कार्यक्रम गरेका हौँ ।’ सिरानचोक गाउँपालिकाको वडा नम्वर २,३,४,५ र गोरखा नगरपालिकाको वडा नम्वर ३ र १० मा कार्यक्रम गरिएको उनले जानकारी दिए ।
सम्बन्धित वडा कार्यालयको समन्वयमा भएको कार्यक्रममा मनसुनजन्य विपदबाट बच्ने र विपदको समयमा स्थानीय स्रोत साधनको प्रयोग गरेर उद्दार र घाइतेको प्राथमिक उपचार गर्ने तरिकाबारे ‘डेमो’ सहित जानकारी गराइएको थियो । विपदको समयमा कसरी सतर्कता अपनाउने भन्ने बारे समेत सहजिकरण गरिएको सह–सेनानी राणाले बताए ।




