
वडासचिव छैनन्, वडा सचिवको काम गर्दै अहेब र इञ्जिनियर
प्रतिक्षा आले ।
गोरखाका अधिकांश वडाहरु वडासचिव विहिन् छन् । वडासचिव नहुँदा प्राविधिकहरुले वडाको काम कारवाही धान्नु परेको छ । लोकसेवाबाट कर्मचारीहरु पदपूर्ति भएर नआएका कारण वडाहरु सचिव विहिन् बनेको स्थानीय तहहरुको भनाइ छ ।
दुर्गम पालिका भनेर चिनिने उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकाको सबै वडाहरु सचिवविहिन छन् ।
चुमनुब्रीमा कर्मचारी नै नटिक्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । विगत दुई वर्षदेखि पालिकाको कुनै वडामा पनि फुल टाईम सचिव नआएको उनले बताए । ‘हाम्रोमा सेवाग्राहीहरुको चाप कमै छ’, उनले भने, ‘तर, वडामा सचिव नहुँदा काम भने प्रभावित बनेको छ ।’ कर्मचारी नहुँदा चुमनुब्रीमा पालिका प्रशासन शाखाले नै वडा सचिवको कामहरु हेर्ने गरेको उनले बताए ।
धार्चेको अवस्था पनि उस्तै छ । गाउँपालिका अन्तरगतका सबै वडाहरु साढे २ वर्षदेखी सचिवबिना नै संचालन भईरहेको प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए । ‘सबै वडाहरु प्राविधिक कर्मचारीको भरमा चलिरहेका छन्’, उनले भने, ‘पहिला आएका कर्मचारीहरु सरुवा भएर गएपछि साढे २ वर्षदेखि सबै वडाहरु सचिवविहिन बनेका हुन् ।’ धार्चेमा ६ वटा वडाहरु स्वास्थ्यकर्मीले र एउटा वडा सवइन्जिनियरले हेर्दै आएको उनले बताए ।
पालुङटार नगरपालिकाका ६ वटा वडाहरु सचिवविहिन रहेको छ । वडासचिव नहुँदा अहेब, एचएहरु वडासचिवको काम गरेर बस्नु परेको सो पालिकाले जनाएको छ । जिल्लाबाट निजामति सेवामा कमै मात्रामा सहभागी हुने र बाहिरी जिल्लाबाट आएका कर्मचारीहरु आफ्नै पायक ठाउँ खोज्दै सरुवा भएर जाने हुँदा पालिका र वडाहरुमा सँधै कर्मचारी अभाव हुने गरेको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी बताउँछन् ।
‘जिल्लामा अन्य ठाउँमा जस्तो लोकसेवा लड्ने ट्रेन्ड नै छैन, बाहिरी जिल्लाबाट आएका कर्मचारीहरु अलि समय काम गर्छन् अनि आफ्नै गृह जिल्ला फर्कन्छन्’, उनले भने, ‘पालुङटार नगरपालिकामा पनि १० वडा मध्य ५ वडाहरु सचिवविहिन छन्, एकजना वडा सचिव सुत्केरी बिदामा हुनुहुन्छ ।’ हाल पालुङटारका ६ वटा वडाहरु सचिव विहिन रहेको उनले बताए । ‘अहिले वडा सचिवको जिम्मेवारी स्वास्थ्यकर्मीहरुले लिनु भएको छ’, उनले भने ।
बारपाक सुलिकोटमा एक वडा सचिवले दुईवटा वडाहरु धान्दै आएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए । प्रशासनिक कर्मचारीको अभावका कारण पालिकाको ७–८ नं वडा र १–२ नं वडा एकजना वडासचिवको भरमा संचालन भईरहेको उनले जानकारी दिए । यस्तै, पालिकाको ५ नं वडा सव–इन्जिनियरले र ६ नं वडा चाहि आन्तरिक लेखा परीक्षकले हेर्दै आएको उनको बताए ।
‘वडामा प्रशासनिक कर्मचारी भएजस्तो अरु हुँदैन’, उनले भने, ‘प्राविधिकले आफ्नो शाखाको कामसँगै वडाको पनि जिम्मेवारी लिनु पर्दा सेवा प्रवाहमा समस्या हुने गरेको छ ।’ एउटै कर्मचारीले दुईवटा वडा हेर्नुपर्दा काममा ढिलाई हुने गरेको उनको भनाइ छ । ‘एकजना सचिव बिदामा बसे भने दुवै वडाका स्थानीयहरु मर्कामा पर्ने गरेका छन्’, उनले भने ।
भीमसेनथापा गाउँपालिका अन्तरगतको ८ वडाहरुमा ५ जना वडासचिवले काम गरिरहेका छन् । प्रशासनिक कर्मचारी अभावका कारण यस्तो अवस्था आएको पालिकाको सूचना अधिकारी खुब प्रसाद धितालले जानकारी दिए । ‘५ जनाले ८ वटा वडाहरु हेर्नु हुन्छ’, उनले भने, ‘५ जनामध्य पनि एकजना कृषि र एकजना पशु शाखाको प्राविधिक हुनुहुन्छ ।’ सामान्यतया प्राविधिक क्षेत्रका कर्मचारीलाई वडासचिव बनाउन नपाइने प्रावधान छ । तर, कुनै विकल्प नभएका कारण प्राविधिक क्षेत्रका कर्मचारीलाई वडाको जिम्मेवारी दिइएको सूचना अधिकारी धिताल बताउँछन् ।
अजिरकोट गाउँपालिकाको वडा नं १ पनि वडासचिव बिना संचालन भइरहेको छ । पालिकाको १ नं वडा सव–इन्जिनियरले हेर्ने गरेको प्रमुख प्रशासकिय अधिकृत नवराज अवस्थीले जानकारी दिए । आरुघाट गाउँपालिकाको १० वडाहरुको जिम्मेवारी चारजना सचिवले गरिरहेका पालिका अध्यक्ष राजु गुरुङ बताउँछन् । ‘चार जना वडासचिव मध्य एकजना पशु शाखाको हुनुहुन्छ’, उनले भने, ‘सबैजनाले दुईदेखि तीनवटा वडाको जिम्मेवारी सम्हालिरहनु भएको छ ।’ सबै वडामा एकजना वडासचिव अनिवार्य हुनुपर्ने उनले बताए ।
सिरानचोक गाउँपालिकाको ८ वडाहरुमध्य जिम्मा २ वटा वडाहरुमा मात्र प्रशासनिक क्षेत्रको वडासचिव रहेको पालिकाको सूचना अधिकारी अहमद दिन मियाँले जानकारी दिए । ‘बाँकी वडाहरुमा भने प्राविधिक क्षेत्रका थाई कर्मचारीहरुलाई सचिवको जिम्मा दिएका छौँ’, उनले भने, ‘पञ्जीकरणको काम संवेदनशील हुने भएकाले प्राविधिक क्षेत्रकै भएपनि स्थायी कर्मचारीलाई नै जिम्मेवारी दिएका हौँ ।’ वडासचिवको जिम्मेवारी करारको कर्मचारीलाई दिन नपाउने उनले बताए ।
गोरखा नगरपालिकामा भने सबै वडाहरुमा वडासचिव छन् । ‘हाम्रो सबै वडाहरुमा वडासचिव छन्, एउटा वडामा भने करारमा सचिव राखिएको छ’ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीले भने । सहिदलखन र गण्डकी गाउँपालिकाको अवस्था पनि उस्तै रहेको पालिकाहरुले जनाएको छ ।
यसरी अधिकांश वडामा वडासचिव नहुँदा सरकारी कामहरु प्रभावित बनेका छन् । स्थानीय तहहरुले कर्मचारी पदपुर्तिका लागि प्रदेशसँग माग गरेका बताएका छन् । आर्थिक वर्ष २०८१/८२ भित्र सबै ठाउँमा कर्मचारी पदपुर्ती हुने उपेक्षा पालिकाहरुको छ ।




