| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिकाको जग्गा वर्गीकरणको काम अन्तिम चरणमा

गोरखा नगरपालिकाको जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको छ । जग्गा वर्गीकरणको पहिलो चरणको काम सम्पन्न भएको हो । नक्सा अद्यावधिकको काम समपन्न भईसकेको नगर प्रमुख कृष्ण राना मगरले जानकारी दिए ।

‘वर्गीकरणको पहिलो चरणको काम अन्तरगत नक्सा अद्यावधिकको काम सम्पन्न भयो’, उनले भने, ‘अब सबै वडाको कित्तागत विवरणको काम बाँकी छ ।’ नगरपालिकाले नापी कार्यालयसँग समन्वय गरेर वर्गीकरणको काम गरिरहेको उनले बताए ।
वर्गीकरण अन्तरगत दोस्रो चरणमा १४ वटै वडाहरुको कित्तागत विवरणको काम हुन्छ ।

सबै वडाको कित्तागत विवरणलाई नगरप्रमुखको संयोजकत्वमा बनेको कार्यान्वयन समितिले अनुगमन गर्ने नगरप्रमुख रानाले बताए । ‘कार्यान्वयन समितिले प्रमाणित गरेपछि नगरपालिकाको भूउपयोग परिषदमा पठाउँछ’, उनले भने, ‘परिषदले विवरणहरुको अनुगमन गर्ने, उजुरी गुनासो छ भने त्यसलाई सुनुवाई गर्ने गर्दछ ।’ भूउपयोग परिषदले स्वीकृत गरेपछि बल्ल नगरपालिकाको कित्ताको काम सुरु हुने उनले बताए । यही असार मसान्तभित्र सबै प्रक्रिया पुरा गरी नगरपालिकाभर कित्ताको काम सुरु गर्नेगरी तयारी भईरहेको उनको भनाई छ ।

भू–उपयोग नियमावली २०८० का अनुसार जग्गाहरू विभिन्न १० समूहमा वर्गीकरण हुनेछन् । त्यसरी वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र छन् ।

भौगोलिक अवस्था, भूमिको क्षमता एवं आवश्यकताका आधारमा जग्गाहरूको वर्गीकरण गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रत्येक स्थानीय तहको भूउपयोग क्षेत्र नक्सा र त्यसको विवरण तयार पार्छ । त्यस्तो विवरण तयार पार्दा वर्गीकृत जग्गामा हुन सक्ने विभिन्न खालका जोखिमको विश्लेषणसहितको नक्साङ्कन गरिएको हुनुपर्ने नियमावलीमा उल्लेख छ । सोही बमोजिम जिल्लाका पालिकाहरुले बजेट नै बिनियोजन गरेर प्रविधिक परार्मशदाताको सहयोगबाट जग्गा वर्गीकरणको काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्