
लागु औषधसहित गोरखामा एक र आँबुखैरेनीमा दुईजना पक्राउ
लागु औषध (ट्रमाडोल)सहित गोरखामा एक जना र आँबुखैरेनीमा दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिका वडा नं. १४ जुम्लाङका ३१ वर्षीय आनन्द तामाङ नौ पत्ता ट्रमाडोल सहित पक्राउ परेका हुन् । मंगलबार बिहान १० बजे प्रहरी चौकी मझुवादेउरालीबाट खटिएका टोलीले तामाङलाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।
उनको शरीर खानतलासीको क्रममा लागु औषध ट्रमाडोल बरामद गरिएको गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले बताए । बरामद गरिएको लागु औषधसहित तामाङलाई सोमबार लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको डिएसपी श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको गोरखा प्रहरीले जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वीराजमार्गबाट दुईजनालाई लागुऔषधसहित पक्राउ गरेको छ । सवारी साधनहरु नियमित चेकजाँच गर्ने क्रममा मुग्लिङतर्फबाट आँबुखैरेनीतर्फ आउदै गरेका भानु नगरपालिका वडा नं. १ बस्ने २२ बर्षका दिपेश परियार र सोही पालिका वडा नं. ४ का २४ बर्षका सलमान मियाँ पक्राउ परेका हुन् ।
परियारलाई लुकाई छिपाई ल्याएको ट्रामाडोल ५७० ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै मियाँलाई साथमा लुकाई छिपाई ल्याएको अवस्थामा टेपाण्डाडोल ४६ ट्याब्लेट नियन्त्रित लागु औषधसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए । उनीहरुलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।




