| मङ्लबार, कार्तिक २४, २०८३

यसबर्षको रोट महोत्सवमा बिगतभन्दा धेरै रोट अर्पण

गुरु गोरखनाथलाई अहिले सम्मकै सबै भन्दा धेरै रोट अर्पण छ । हरेक बर्ष हुने रोट महोत्सवहरुमा भन्दा यसबर्षको महोत्सवमा धेरै रोट अर्पण भएको आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । सिद्धाश्रम शक्तिकेन्द्रले बिगत २१ बर्षदेखि वैशाख पुर्णिमाका दिनदेखि ११ दिनसम्म सवालाख रोट महोत्सव आयोजना गर्ने गर्दछ ।

यो वर्ष पनि यही जेठ १० गतेबाट गोरखनाथ गुफामा सुरु भएको २१ औँ श्रृङ्खलाको रोट अर्पण कार्यक्रम आइतबार सम्पन्न भएको छ । ११ दिनसम्म चलेको महोत्सवमा एक लाख ६७ हजार ९६५ वटा रोट प्रसाद गुरु गोरखनाथलाई अर्पण गरिएको सोमबार पत्रकार सम्मेलन गरी केन्द्रीय संयोजक रामजी अर्यालले बताए ।

‘सवालाख रोट महोत्सव सुरु भएको २१ वर्ष भई सक्यो, सधैको वर्षहरुमा एक लाख ४० हजार, एक लाख ५० हजार सम्म रोट चढाइथ्यो,’ उनले भने, ‘यो वर्ष एक लाख लाख ६७ हजार ९६५ वटा रोट गुरु गोरखनाथ चढाउन सफल भयौं । रोट महोत्सव सुरु भएदेखिको अहिले सम्मकै धेरै अर्पण गरेको रेकर्ड हो ।’

२१ औं सवालाख रोट महोत्सव पूर्ण रुपले सफल भएको उनले बताए । महोत्सवको अन्तिम दिन आइतबार २० गते पुर्णाहुति, रोट महोत्सवमा सक्रिय नाथयोगीहरु, अन्य सहयोगीहरुलाई विदाइ एवं महोत्सव समापन गरिएको केन्द्रले जनाएको छ ।

गहुँ, जौ र चामलको पिठोमा बिभिन्न ५२ थरीका शक्तिवर्द्धक मसला मिसाएर रोट बनाइन्छ । रोटमा ल्वाङ, सुकुमेल, छोहरा, काजु, किसमिस, जाईफल, दाख, चिनी, खुदो, नरिबल जस्ता परिकार मिसाईन्छ । नाथहरुले शुद्ध भई पिठोमा किसमिस मिसाएर रोटलाई ससाना डल्ला बनाउँदै घ्यूमा पोल्ने गरिन्छ ।

महोत्सवका हरेक दिन निरन्तर स्तुति वन्दना, स्तवन पाठ, गुरु गोरखनाथको विशेष पुजन, देवीदेवताहरुको पुजन, विशेष हवन, मन्त्रजप, दिव्य गुरु आरतीलगायत भजनकीर्तन र भण्डारा लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको संयोजक अर्यालले जानकारी दिए ।

रोट महोत्सवमा काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, पर्सा, सर्लाही सिन्धुली, चैनपुर र जिल्लाका विभिन्न ठाउँ बाट ५० हजार भन्दा धैरै भक्तजनहरु सहभागी हुन आएको केन्द्रीय संयोजक रामजी अर्यालले बताए । गोरखनाथलाई सबैभन्दा बढी मनपर्ने भएकाले रोट चढाएर खुसी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्