
विविध कार्यक्रम गरि गोरखा संग्रहालयले मनायो स्थापना दिवस
गोरखा संग्रहालयको १७ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइएको छ । शनिबार औपचारिक कार्यक्रम गरी संग्रहालयले दिवस मनाएको हो । कार्यक्रममा संग्रहालय प्रमुख जयनारायण कार्कीले प्रस्तुतीकरण मार्फत संग्रहालयको कामबारे प्रकाश पारेका थिए ।
चालु आव संग्रहालयद्धारा संचालित शैक्षिक कार्यक्रम अन्तरगत बिद्यार्थीलाई जिल्लाको ऐतिहासिक तथा पुरातात्विक स्थल लिगलिगकोट र अजिरकोट भ्रमण गराइएको र प्रतिवेदन लेखन प्रतियोगिता समेत भएको उनले जानकारी दिए । प्रतियोगितामा महालक्ष्मी माविकी मृदुषा अर्याल प्रथम भएकी थिइन् । त्यस्तै बालमन्दिर माविका सम्राट सुनार दोस्रो, शक्ति माविकी शान्दिपनि श्रेष्ठ तेस्रो र सरस्वती माविकी मनिका बयलकोटीले सान्त्वना भएकी थिइन् ।
प्रतियोगिताका बिजेता बिद्यार्थीलाई स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको छ । स्थापना दिवसकै अवसरमा गोरखा नगरपालिकास्थित महेन्द्रज्योती मावि र बौद्धिक गुरुकुल आधारभूत विद्यालयलाई शैक्षिक तथा सांगितीक सामग्री पनि वितरण गरिएको संग्रहालयले जनाएको छ ।
पुरातत्व विभाग काठमाडौंकी महानिर्देशक सौभाग्य प्रधानाङ्गको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, गोरखा दरबार हेरचाह अड्डा प्रमुख विष्णुप्रसाद पाठक, पत्रकार महासंघ गोरखाका कार्यवहाक अध्यक्ष नरेन्द्र ढकाल, तारा माविका शिक्षक दयाराम ढकाल, शक्ति मावि पाटेचौरकी छात्रा शान्दिपनि श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।




