
जिल्ला लिग फुटवल प्रतियोगिताको तयारी पूरा
शनिवारबाट सुरु हुने गोरखा जिल्ला लिग फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । गोरखा जिल्ला फुटवल संघको आयोजना प्रतियोगिता हुन लागेको हो । गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलमैदानमा हुने प्रतियोगितामा ११ टिमको सहभागीता रहने संघका अध्यक्ष बिशाल गुरुङले बताए ।
‘संघमा आवद्ध क्लबहरु प्रतियोगितामा सहभागी हुने हो,’ उनले भने, ‘टाइसिट समेत तयार भइसक्यो ।’ प्रतियोगितामा गोरखा नगरपालिकाको हरमटारी क्लब, ओसन क्लब, सुर्याेदय युवा परिवार, सतिपिपल युवा क्लब, दि गुर्खाज यूनाइटेड पाटेचौर तथा पालुङटार नगरपालिकाका च्याङ्ली स्पोर्टस क्लब, मस्र्याङ्दी युवा क्लब, चेपे आदर्श युवा क्लब, तालदेवी युवा क्लब, आदर्श क्लब र बौद्ध हिमाल युवा क्लब सहभागी हुने छन् ।
प्रतियोगितामा पहिलो हुनेले नगद एक लाखको साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । दोस्रो हुनेले ५० हजार नगदको साथमा मेडल र प्रमाणपत्र पाउने संघका अध्यक्ष गुरुङले बताए । ‘फेयर प्ले’ क्लबले १५ हजार नगद पुरस्कार पाउने उनले जानकारी दिए । ‘उत्कृष्ट खेलाडीले दश हजार, हाइ स्कोरर र उत्कृष्ट गोलरक्षकले पाँच/पाँच हजार नगद पुरस्कार पाउछन्,’ उनले भने । असार १ गतेसम्म प्रतियोगिता संचालन हुने बताइएको छ । प्रतियोगिताको स्थानीय आयोजक सुर्याेदय युवा परिवार छेवेटार रहेको छ ।




