
आत्मर्निभर बनाउन सिरानचोकमा सिपमूलक तालिम
पालिकावासीलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ सिरानचोक गाउँपालिकाले बिभिन्न सिपमूलक तालिम संचालन गरेको छ । सिपमार्फत आत्मनिर्भर बनाई आयआर्जनको स्रोत बढाउने उदेश्यले बिभिन्न तालिम संचालन गरिएको पालिकाले जनाएको छ ।
वडा नम्वर ६ गाँखुमा मकैको खोसेल्टाबाट बिभिन्न सामग्री बनाउने तालिम सम्पन्न भएको छ ।
महिलाहरुलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको गाउँपालिका उपाध्यक्ष रिता देवकोटाले बताइन् । स्थानीय स्तरमा सजिलै उपलब्ध हुने मकैको खोसेल्टालाई सदुपयोग गर्दै महिलाहरुको आयआर्जनको स्रोत बढाउने उदेश्यले तालिम प्रदान गरिएको उनले जानकारी दिइन् । तालिममा सहभागिहरुलाई मकैको खोसेल्टाको फुल, गमला लगायतका सामाग्रीहरु बनाउन सिकाइएको उनले बताइन् ।
‘तालिमले महिलाहरुलाई आत्मर्निभर बनाउछ भन्ने विश्वास लिएका छौ’, उनले भनिन्, ‘उहाँहरुले कामलाई निरन्तरता दिनुभयो भने बजार व्यवस्थापनको जिम्मा पनि पालिका आँफैले लिन्छ ।’ तालिमका लागी चालु आव पालिकाले दुई लाख रकम विनियोजन गरेको थियो । त्यस्तै वडा नम्वर ४ चोरकाटेमा मोटोको भाडा बनाउने तालिम दिइएको छ ।
गमला, मूर्ती, कपसँगै अन्य भाडाकुडाका सामग्री बनाउन सिकाइएको बताइएको छ । उक्त तालिम ४५ दिनसम्म संचालन भएको थियो । यता वडा नम्वर ६ उधिनढुङ्गामा हस्तकला सम्बन्धी तालिम संचालनमा छ । तालिम अवधिभर चोया, निगालोबाट विभिन्न सामग्री बनाउन सिकाइने बताइएको छ ।




