
भूकम्पमा ज्यान गुमाएका गोठालाको सम्झनामा धार्चेमा गोठालो स्मृति पार्क
गोरखा भूकम्पमा परी ज्यान गुमाएका गोठालाहरुको सम्झनामा धार्चे गाउँपालिकामा गोठालो स्मृति पार्क निर्माण गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको आर्थिक सहयोगमा धार्चे गाउँपालिका–५ यामगाँउस्थित पुञ्जा खर्कमा पार्क निर्माण भएको हो ।
भूकम्पमा जुङकाङ डाँडा विष्फोट हुदाँ पुरिएर नौ जना गोठालाहरुको मृत्यु भएको थियो । मृत्यु हुनेमा ८० वर्षीय गरबहादुर गुरुङ, ७२ वर्षीय सुनबहादुर गुरुङ, ६३ वर्षीय सञ्जय गुरुङ, ६२ वर्षीया कान्छी गुरुङ, २० वर्षीय प्रदिप गुरुङ, १७ वर्षीया सस्मिता गुरुङ, ४९ वर्षीया कान्छी गुरुङ, १३ वर्षीया विनिता गुरुङ र १३ वर्षीय प्रतिमान गुरुङ रहेका छन् । पार्कमा उनीहरुको शिलालेख समेत राखिएको धार्चे मनासलु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले बताए ।
उक्त पार्क २०७८ सालमा नै निमार्ण गरिएको थियो । मृत्यु भएका व्यक्तिहरुको नाम संकलनमा ढिलाई भएकाले शिलालेख भने गत आइतबार मात्र राखिएको गुरुङले बताए । ‘गाउँकै मान्छेहरु भूकम्पमा परेर त्यसरी म¥यो,’ उनले भने, ‘उनीहरु साथमा नभए पनि सम्झनामा रहि रहोस् भनेर पार्क निर्माण गरिएको हो ।’ उनका अनुसार उक्त भूकम्पमा परि तीन सय बढी भेडाहरु बेपत्ता भएका थिए ।
‘त्यती बेला मान्छे मात्रै होइन कयौं भेडा मरे, बाख्राहरु पनि कति हरायो, ती दिनहरु अहिले सम्झिदाँ नी कहाली लागेर आउँछ,’ उनले भने । उद्घाटन कार्यक्रममा तमु प्येल्हु संघका अध्यक्ष टेक बहादुर गुरुङ, बनलम समितिका जिल्ला अध्यक्ष सन्त बहादुर गुरुङ, धार्चे मनासलु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङ, पर्यटन व्यवसाय समितिका कान्छालाल गुरुङ, महिला समूह लगायतको उपस्थिती रहेको थियो । करिब चार लाख खर्चेर पार्क निर्माण गरिएको बताइएको छ ।




