
मगरहरु नीति निर्माणको तहसम्म पुग्नु जरुरी छ : उपसभामुख मगर
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले मगरहरु नीति निर्माणको तहसम्म पुग्नु जरुरी रहेको बताएकी छन् । शनिवार गोरखामा भएको नेपाल मगर संघको २८ राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले मगर समुदाय जति सफल हुनुपर्ने त्यति नभएको धारणा व्यक्त गरिन् ।
‘धेरै भन्दा धेरै मगर समुदायका प्रतिनिधिहरु देशको माथिल्लो अहोदासम्म पुग्नु जरुरी छ,’ उनले भनिन्, ‘मगर समुदाय जति सफल हुनुपर्ने थियो त्यति भएको छैन ।’ कार्यक्रममा बोल्दै उनले प्रथम शहिद लखन थापाको योगदानको प्रशंसा गर्दै उनलाई राष्ट्रिय बिभूती घोषणा गर्नुपर्ने बताइन् । ‘लखन थापाले मगर समुदायको लागी मात्र नभएर सिङगो राष्ट्रको लागि विद्रोह गरेका थिए, तर अहिले लखन थापाको विषय मगर समुदायले मात्र उठाउने गरेको छ । लखन थापामाथि अन्याय परेको छ, अब उनलाई राष्ट्रिय विभूति घोषणा गर्न सिङ्गो मगर समुदाय लाग्नु जरुरी छ ।’
गोरखा संग्रहालय परिसरमा सुरु भएको सम्मेलनको शनिवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । प्रतिनिधि सभाका उपसभामुख मगरले सम्मेलनको उद्घाटन गरेकी हुन् । सम्मेलनमा सातै प्रदेश, ७७ वटै जिल्ला, ८ वटा भातृ संगठन र १५ भन्दाबढी बैदेशिक शाखाका प्रतिनिधिहरु सहभागी छन् । सम्मेलनमा देशको सांस्कृतिक नीति, मगरात क्षेत्र बिस्तार, प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणाको माग लगायतका बिषयमा छलफल हुने बताइएको छ ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गर्ने बिषयलाई पनि छलफल गरिने संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले बताए । नेपाल मगर संघ केन्द्रिय समिति अध्यक्ष ज्ञानेन्द्र पुनमगरको अध्यक्षता एवं प्रतिनिधि सभा उपसभामुख रानाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुरेश आले मगर, आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, अन्तराष्ट्रिय मगर महासंघका निवर्तमान अध्यक्ष नविन रोका मगर लगायतले मन्तव्य राखेका थिए ।
उद्घाटन पूर्व झाँकी ¥याली निकालिएको थियो । हरमटारी खेलमैदानबाट सुरु भएको ¥याली बिसौनी, बसपार्क, पदेली ठुलोआँगन हुदैँ कार्यक्रम स्थल (गोरखा संग्रहालय परिसर) पुगेको थियो । साँझ मगर समुदायिको संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु समेत भएको बताइएको छ ।




