
कृषकलाई माछा पालन सम्बन्धि तालिम
जिल्लामा माछा पालन सम्बन्धि तीन दिने कृषक स्तरीय तालिम सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजनामा संचालन भएको तालिम बिहीवार सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम अन्तरगत पालिकाहरुबाट छनोट भएर आएका कृषकहरुलाई तालिम दिइएको कार्यालय प्रमुख सर्मिला कुमालले बताइन् । धार्चे र चुमनुव्री वाहेकका अन्य सबै स्थानीय तहका १८ जना कृषकको तालिममा सहभागीता रहेको उनले जानकारी दिइन् ।
‘प्रत्येक पालिकाबाट दुई जनाका दरले किसानहरु छनोट गरेर तालिममा सहभागी गराएका हौ,’ उनले भनिन्, ‘तालिम अवधिभर उहाँहरुलाई पोखरी व्यवस्थापन, माछाको आहारा, जात र रोगका बारेमा जानकारी गरायौ ।’ तालिममा कार्यालयका टिकाबहादुर नेपाली, सुदिप बिक, प्रतिमा राना मगर, रितिका रावल र डा. रोजिना चोधरीले सहिजकरण गरेका थिए । मंगलवारबाट तालिम शुरु भएको थियो ।




