| मङ्लबार, कार्तिक २४, २०८३

जात व्यवस्था बिरुद्ध गोरखामा राँके जुलुससहित बिरोध प्रदर्शन

बैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी नेपालको जनवर्गिय संगठन जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जिल्ला सदरमुकाममा राँके जुलुससहित बिरोध प्रदर्शन गरेको छ । जेठ १० लाई जात व्यवस्था बिरुद्धको बिद्रोह दिवस मान्दै बिहीवार साँझ राँके जुलुससहित प्रदर्शन गरिएको पार्टीका केन्द्रिय सदस्य एवं गोरखा, लम्जुङ र मनाङ इन्चार्ज प्रकाश शर्माले बताए ।

बसपार्कबाट निस्किएको राँके जुलुस बिसौनी हुदैँ हरमटारीमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै शर्माले नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएपनि छुवाछुतकै आधारमा बिभिन्न घटनाहरु हुने गरेको बताए । छुवाछुतको नाममा हुने त्यस्ता घटनाको अन्त्य हुनुपर्ने माग गर्दै बिरोध प्रदर्शन गरिएको उनले जानकारी दिए ।

दिवसको सन्दर्भ पारेर सात दिनसम्म विविध कार्यक्रम गरिएको उनले बताए । पर्चा वितरण, गोष्ठी, फोटो प्रदर्शनी, बिज्ञसँग अन्तरक्रिया लगायतका गतिविधि गरिएको उनको भनाइ छ । उनका अनुसार पार्टीले विगत तीन बर्षदेखि जेठ १० लाई जात व्यवस्था बिरुद्धको बिद्रोह दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्