
शहिदलखन ७ बाट एक वर्षमा एक हजार बढीले सेवा लिए
शहिदलखन गाउँपालिका वडा नं. ७ को कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ६८६ जनाले सेवा लिएका छन् । बुधबार वडा कार्यालयको आयोजनामा भएको स्थानीय सभा व्यवस्थापन तथा वार्षिक समिक्षा कार्यक्रममा वडाध्यक्ष शरण श्रेष्ठले सो कुरा जानकारी गराएका हुन् ।
कार्यक्रममा वडा सचिव पमिता अर्यालले वर्ष भरी गरेका कामको प्रगती प्रतिबेदन पेश गरेकी थिइन् । गत वर्ष वडामा जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद गरी १७५ वटा घटना दर्ता भएको उनले बताइन् । सो वडा भित्रका ७०४ जनाले सामाजिक सुरक्षा भत्ता लिदैं आएको समेत उनले जानकारी गराइन् ।
उनका अनुसार एक बर्षमा वडामा १७ वटा व्यवसाय (नयाँ र नविकरण सहित) दर्ता भएका छन् । २० वटा उपभोक्ता समिति बनाएर वडाका योजनाहरु सम्पन्न गरेर भुक्तानी समेत भइसकेको छ । यो बर्ष पालिकाले वडा नम्वर ७ लाई उत्कृष्ट वडा समेत घोषणा गरेको छ । उपभोक्ता समितिले समयमै काम सम्पन्न गरेका कारण पनि उत्कृष्ट वडा बन्न सफल भएको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।
कार्यक्रमको अवसरमा उपभोक्ता समितिहरुलाई सम्मान समेत गरिएको छ । वडाका सबै भन्दा जेष्ठ नागरिक एक सय वर्षीया राधिका खनाल र ९८ वर्षका कुलबहादुर राना पनि सम्मानित भएका छन् । वडा भित्रका चार वटा सामुदायिक विद्यालय र एक संस्थागत विद्यालयलाई पनि सम्मान गरिएको बताइएको छ । वडाको सवल पक्ष तथा विकास निमार्णमा सहयोग गर्ने संघ संस्थाहरु पनि सम्मानित भएको वडाले जनाएको छ ।
उपभोक्ता समितिहरुलाई योजना तथा कार्यक्रमको फोटो निशुल्क प्रिन्ट गर्ने व्यवस्था गरिएको र सार्बजनिक बिदाको दिन पनि कार्यालयबाट सेवा प्रवाह गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । वडा कार्यालयमा आउने सेवाग्राहीहरुको लागी स्तनपान तथा विश्राम कक्षको व्यवस्था समेत भएको बताइएको छ ।
स्थानीय सभा सहसंयोजक शुक्रराज श्रेष्ठको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य, राजनीतिक दल, टोल बिकास संस्था, विद्यालय, उपभोक्ता समिति लगायतको उपस्थिती रहेको थियो ।




