
गोरखा सदरमुकामको नाङ्गो तारलाई इन्सुलेट गरिदैँ
जिल्लाको सदरमुकाम क्षेत्रका विजुली तारहरुको क्षमता बढाउने काम सुरु भएको छ । विद्युतको प्राविधिक घाटा न्युनिकरण गर्ने उद्देश्यका साथ सदरमुकाम क्षेत्रमा विद्युतीय तारहरुको क्षमता बृद्धि गर्न लागेको हो ।
पहिला ३० वर्ग मिलिमिटर तारहरु जडान गरिएकोमा अहिले त्यसको क्षमता बृद्धि गरेर ५५ देखि १०० वर्ग मिलिमिटरका तारहरु जडान गर्न लागिएको विद्युत प्राधिकरण गोरखाका प्रमुख चिज बहादुर गुरुङले जानकारी दिए । यसैगरी, गोरखा बजार क्षेत्रमा अव्यवस्थित रुपमा झुन्डिएका नाङगो तारहरुलाई इन्सिुलेट गर्ने काम पनि सुरु भएको छ । नाङ्गो तारहरुबाट हुने दुर्घटना न्युनिकरणका लागि इन्सिुलेसन्को काम सुरु गरिएको उनले बताए ।
गोरखा नगरपालिका, सहिदलखन गाउँपालिका, सिरानचोक गाउँपालिका, भीमसेनथापा गाउँपालिका र पालुङ्टार नगरपालिका लगायत क्षेत्रहरुमा गत शनिबारदेखि विद्युत सेवा अवरोध भएको छ । कार्यालयले सूचना जारी गर्दै सदरमुकामस्थित वितरण केन्द्र अन्तर्गत ३३/११ के.भि. सवस्टेशन र गोरखा हरमटारीमा जडित ३३ के.भि. र १२ के.भि. का ब्रेकर फेर्न तथा टेस्टिङ/चार्जिङ कार्य गर्नुपर्ने भएकोले ३३/११ के.भि. गोरखा सवस्टेशनबाट वितरित विद्युत अवरुद्घ हुने जानकारी दिएको थियो ।
‘जेठ १२ गतेसम्म विद्युत अवरोध कायम हुन्छ’, विद्युत कार्यलय प्रमुख गुरुङले भने, ‘केन्द्रबाटै बजेट बिनियोजन भएर यो काम संचालन भएको हो ।’ मर्मत सम्भारको काम सम्पन्न भएसँगै जिल्लाको विद्युतीय समस्याहरु केही हदसम्म न्युनिकरण हुने उनको भनाई छ ।




