
घर र विद्यालयमा हिंसाबाट पिडित भएका बालिका खोज्दै प्रहरी
विद्यालय उमेरका बालिकामा दबेर रहेका यौन तथा घरेलु हिंसाका घटना बाहिर ल्याउन गोरखा प्रहरीले बिशेष अभियान सुरु गरेको छ । बिगत एक सातादेखि ‘प्रहरीसँग एक दिन’ अभियान चलाएर प्रहरीले बालिकाभित्र लुकेर रहेको हिंसाका घटनाको खोज अनुसन्धान गरेको हो ।
अभियान अन्तरगत सामुदायिक बिद्यालयका ७ देखि १० कक्षासम्मका बिद्यार्थीलाई कार्यालयमा बोलाएर अन्तरक्रिया गर्ने गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव पाठकले बताए । ‘कार्यालय भ्रमण गराएर प्रहरीले के कसरी काम गर्छ त्यो जानकारी गराउछौँ,’ उनले भने, ‘के गरेमा हिंसा हुन्छ ? आफ्नो घरपरिवार वा आफूलाई कोही कसैबाट त्यस्तो किसिमको हिंसा भएको छ कि छैन भनेर उहाँहरुलाई गोप्य रुपमा फर्म पनि भर्न लगाउछौ । आवश्यक परेमा महिला सेलको मद्दतले लुकेर रहेका हिँसाका घटनाको सोध, खोज र अनुसन्धान गर्नेछौँ ।’ उनीहरुको समस्या सोधखोज गर्न तथा फर्म भर्दा नाम गोप्य राखिने उनले जानकारी दिए ।
उनका अनुसार एक साताको अवधिमा विद्यालय उमेरका बालिकाहरुका ४१ वटा गुनासो संकलन भएका छन् । जसमध्य बालयौन दुव्र्यवहारका १८ गुनासा छन् । १८ मध्य पनि विद्यालयमा शिक्षकहरुबाट भोग्नु परेका यौन दुव्र्यवहारका गुनासा तीनवटा भेटिएका एसपी पाठकले बताए ।
साइवर अपराधका १८, घरेलु हिंसाका ३ र जातीय बिभेदका २ वटा गुनासो प्राप्त भएको एसपी पाठकले बताए । ‘हालसम्म ६ वटा विद्यालयका कुल ६ सय २९ जना विद्यार्थीसँग हामीले अन्तरक्रिया ग¥यौ । ती गुनासाहरु उहाँहरुबाट प्राप्त भएको हो,’ उनले भने । गुनासोबारे अनुसन्धान गरी दोषीलाई कानूनी दायरमा ल्याउने उनले जानकारी गराए । ‘विद्यालयमा शिक्षकबाट बालबालिकामा हुने यौन दुरुत्साहनका विषयमा सम्बन्धित शिक्षकहरुलाई बोलाएर सम्झाइबुझाइ गर्ने कि, कारबाही प्रक्रिया सुरु गर्ने भन्ने बारेमा हामी छलफल गर्दैछौँ’, एसपी पाठकले भने, ‘अरु घरेलु हिंसाका घटनामा जोडिएका पिडकलाई पनि कसरी कारबाही प्रक्रिया अघि बढाउने भन्ने छलफल गर्दैछौँ ।’
भ्रमणमा आएका बिद्यार्थीलाई लागू औषध दुव्र्यसनी, साइवर क्राइम र यौन हिंसा बिरुद्ध जनचेतनामूलक वृत्तचित्र समेत देखाउने गरेको कार्यालयले जनाएको छ । बालबालिकाहरुको न्यायमा सहज पहुँच बिस्तार गरी बालमैत्री वातावरण सृजना गर्ने समेत अभियानको उदेश्य रहेको बताइएको छ ।




