
विद्यार्थी लक्षित ‘प्रहरीसंग एक दिन’ कार्यक्रम संचालन
जिल्लामा ‘प्रहरीसँग एक दिन’ कार्यक्रम सुरु गरेको छ । जिल्ला प्रहरी कार्यलय गोरखा र सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र, गोरखाको संयुक्त आयोजनामा कार्यक्रम संचालनमा आएको हो ।
१४ देखि १८ बर्षसम्मका किशोर किशोरीहरूलाई साइबर हिंसा, यौन हिंसा एवम् लागुऔषध दुव््र्यसन सम्बन्धी जानकारी गराउने उद्देश्यले सो कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।
अपराध र त्यसबापत हुने कारबाहीका बारेमा अभिमुखीकरण गरेपछि उनीहरु सचेत हुने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम अन्तरगत सोमबार मोर्डन सेकेण्डरी ई बोर्डिङ स्कुलको कक्षा ९ र १० मा अध्यनरत् १२ जना विद्यार्थीहरुलाई कार्यलयमै उपस्थित गराई कार्यक्रम संचालन गरेको श्रेष्ठले बताए । सहभागी विद्यार्थीहरुलाई कार्यलयको बिभिन्न शाखा, हिरासत कक्ष, सामुदायिक प्रहरी सेवा केन्द्र, नागरिक सहायता कक्ष, कन्ट्रोल रुम, सिसिटिभी तथा संचार कक्ष सम्बन्धी बिभिन्न बिषयहरुका बारेमा जानकारी गराइएको उनले बताए ।
साथै विद्यार्थीहरुलाई साइबर क्राइम, यौन दुर्व्यवहार र लागुऔषध सम्बन्धी चेतनामुलक भिडियो प्रदशनी गरेको उनको भनाई छ । ‘हामीले विद्यार्थीहरुलाई अपराधहरुको जानकारी तथा अध्ययन र विश्लेषण गर्न तयार गरीएको प्रश्नावली वितरण गरी उत्तर समेत संकलन गरेका छौँ’, उनले भने, ‘संकलित बिवरण अनुसार ९ वटा यौन हिंसा सम्बन्धि र १ वटा साइबर अपराध सम्बन्धि अपराधको घटनाको सुचना प्राप्त भएको छ ।’
जिप्रकाले आइतबारबाट ‘प्रहरीसंग एक दिन’ कार्यक्रम संचालन गरेको हो । आइतबार शक्ति माविका कक्षा ९ र १० का ९२ जना विद्यार्थीहरुलाई कार्यक्रममा समावेश गराइएको थियो ।




