| मङ्लबार, कार्तिक २४, २०८३

लोक्पाखोलामा २३ वर्षदेखि निरन्तर पहिरो, बर्सेनी बग्दै देवल गाउँ

मेलिना बराम ।
चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिमबाट दक्षिण पश्चिमतर्फ एउटा अजङ्गको पहिरो छ । पहिरोको शीर स्थानीय देवल गाउँको आँगनमा छ । हेर्दा भर्खरै ओइरिएजस्तो आलो देखिन्छ तर, यो पहिरो नयाँ भने होइन ।

लोक्पाखोलामा बिगत २३ वर्षदेखि के हिउँद, के बर्खा निरन्तर यो पहिरो बगिरहेको स्थानीयको भनाइ छ । बर्खाका बेला गाउँ नै थर्काएर बग्छ, हिउँदका बेला बुङ्ग धुलो उँडाएर पहिरो जान्छ । पहिरो निर्दोष छैन, यसले स्थानीय देवल गाउँका धेरै दुखी गरिबको घरबास उठाएको छ, धेरैको आँशु बगाएको छ ।

हालसम्म नुसिला, लोक्पा, ल्याक्सिगाउँ गरी तीन वटा बस्ती बगाई सकेको पहिरोको जोखिममा अहिले देवल गाउँका ७५ घरधुरी छन् । बस्ती बसेको जमिन सबै चिरा चिरा भएर फाटेर बसेको देखेर गाउँले त्रसित छन्, चिन्तित छन् । त्यसमध्य पनि तीन घर पहिरोको निकै जोखिममा रहेको छ ।

‘बस्ती स्तान्तरण नगर्ने हो भने अबको केही वर्षमा पहिरोले गाउँ सखाप पार्छ’, स्थानिय बतवाल गुरुङले भने । बर्खाको समयमा पानी पर्न सुरु भएपछि गाउँका कोही पनि नसुत्ने गरेको उनले सुनाए । ‘पानी परे पछि के मनले सुत्नु, कति बेला भासिएर गाउँ नै सलल पारी लैजाने हो भन्नी डर लागि राख्छ,’ उनले भने ‘पानी परे पछि त ात भरी नै गाउँको सब जना घर बाहिर निस्किएर बस्छन् ।’

२०५७ सालमा विद्युत निकाल्नलाई पावर हाउस बनाएदेखि पहिरो जान सुरु भएको थियो । ‘२०५७ साल तिर विद्युत निकाल्नलाई पावर हाउस बनाएको थियो, त्यति बेला सानो पहिरो गयो त्यपछि पहिरोले पावर हाउस पनि बगायो,’ उनले भने । असार साउनको वर्षासँगै खोला ठुलो भएर आउने उनले बताए । दुई महिनाको निरन्तर जस्तो वर्षाले जमिन सबै गलाउने भएकाले भदौदेखि फागुन सम्म फेरी निरन्तर पहिरो खसिरहने गुरुङले बताए ।

बस्ती सारेर सुरक्षित स्थानमा लाग्ने कुरा चलेता पनि कार्यान्यन हुन नसकेको अर्की स्थानीय गमनी गुरुङले गुनासो गरिन् । जानलाई कुनै ठाउँ नभएकाले डरैडरमा भएपनि गाउँमा नै बस्नु बाध्य भएको उनले बताइन् । ‘यता उति जाम भनेनि कता जानु र खै कतै जानी ठाउँ छैन,’ उनले भनिन्, ‘जता गए नि पैसा नै लाग्ने हो हामी सँग त्यति धेरै पैसा पनि छैन ।’ गाउँपालिकाले बस्ती स्थानान्तरण गरिदिएको खण्डमा गाउँकै वरिपरि गरिदिन उनले माग गरेकी छिन् ।

अन्यत्र स्तान्तरण गरिदिए कुनै बेला आएर आफ्नो पहिचान लोप हुने डर रहेको गमनीले सुनाइन् । ‘गाउँपालिकाले कहिले यतै कतै सुरक्षित ठाउँमा सार्ने भन्छ कहिले चितवन पठाउने कुरा पनि गर्छन्,’ उनी भन्छिन्,’ ‘तर, हामीलाई त यहीँ नै कतै राम्रो ठाउँ खोजेर स्थानान्तरण गरेको राम्रो लाग्छ । चितवनतिर पठायो भने त हाम्रो भाषा संस्कृति हराउला, पछि हाम्रो पहिचान नै नरहला भन्ने लाग्छ ।’

यता गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङले बस्ती सुरक्षित ठाउँमा स्तन्तरण गर्नका लागि आफुहरुले निरन्तर पहल गरिहेको बताइन् । ‘यो समस्या धेरै पहिलादेखिको हो, हामीले हाम्रो पालादेखि नै सुरक्षित स्थानमा बस्ती स्तान्तरण गर्नका लागि पहल गरिरहेका छौं,’ उनले भनिन्, ‘हाम्रो मान्छेलाई नतिजा छिटो चाहिन्छ तर कागजी प्रक्रिया धेरै लामो हुन्छ । म अहिले गाउँपालिकाको पदमा नभए पनि मेरो पालामा सुरु भएकाले पहलकदमी भने निरन्तर गरिरहेकी छु ।’

केही वर्षअघि गाउँपालिकाले भूगर्भविद्हरु ल्याएर बस्तीको अनुगमन समेत गराएको थियो । भूगर्भविद्हरुले बस्ती बस्न योग्य नरहेको निकर्ष निकालेको उनले जानकारी दिइन् । त्यसपछि बस्ती स्तान्तरणको प्रक्रिया सुरु गरिएको गुरुङले बताइन् । ‘हाम्रै पालामा भूगर्भबिद्हरु बोलाएर बस्तीको अनुगमन गरिएको हो । उहाँहरुले बस्न योग्य छैन भन्नु भएपछि स्थानान्तरणको प्रक्रिया थालिएको हो । अहिलेसम्म पनि बस्ती कहाँ स्तान्तरण गर्ने भन्ने निर्णय हुन सकेको छैन,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्