| मङ्लबार, कार्तिक २४, २०८३

वेयुल किमोलुङ सेराङ : सत्यम् शिवम् सुन्दरम्

आँखाभरि हिमश्रृङ्खला, छाँगा, छहरा र गुराँसे वन, श्रवणभरि घोरल, झारल, नाउर, डाँफे र मुनाल क्रिडाको गुञ्जन, मनभरि सत्यम्, शिवम् सुन्दरम् यो हो, सेराङको स्मरण । जहाँ कायिक, वाचिक, मानसिक हिंसा मुक्त छ, जहाँ मान्छे र वन्यजन्तु बीच मित्रवत् सम्बन्ध छ त्यो हो वेयुल किमोलुङ सेराङ ।

केही दिनअघि यही सेराङबाट नुब्री क्षेत्रलाई ‘अहिंसा उपत्यका’ घोषणा भयो । यसअघि वि.सं. १९७७ मा गौतम बुद्धको जन्म, बोधिलाभ र महापरिनिर्वाणको सन्दर्भ पारेर टुल्कु डुक्पा लामा सेराप दोर्जेले चुम उपत्यकालाई अहिंसा क्षेत्र घोषणा गरेका थिए । त्यसको एकसय बर्ष पूरा भएको अवसरमा गत बर्ष चुम उपत्यकाको राजेन गुम्बामा स्याग्या सताव्दी महोत्सव मनाइएको थियो । अहिंसालाई स्थानीय भाषामा ‘स्याग्या’ भन्ने गर्छन् ।

सेराङ स्वयं त सदियौँदेखि अहिंसा क्षेत्र नै थियो, अब सेराङ रहेको नुब्री उपत्यका नै अहिंसा क्षेत्र भयो । अहिंसा हुनका लागि सेराङ गुम्बा र गाउँपालिकाले शील अर्थात आचार संहिता जारी गरेका छन् । बौद्ध धर्मावलम्बीले पालना गर्नुपर्ने पाँच वटा नियमलाई पञ्चशील भनिन्छ । जसअन्तर्गत पहिलो शील हो( कुनै पनि प्राणीको शरीर तथा मनमा चोट नपु¥याउने अर्थात यसलाई अहिंसा पनि भनिन्छ । त्यस्तै मादक पदार्थ(लागुऔषध) सेवन नगर्नु, व्यभिचार नगर्नु, झूटो नबोल्नु, र अरुको बस्तुमाथि अधिकार नजमाउनु हो ।

शान्ति उपत्यका हुनका लागि चुम र नुब्री क्षेत्रका बासिन्दाले पालना गर्नुपर्ने नियमलाई वुद्धले जारी गरेको पञ्चशीलसंग सम्बन्ध जोड्ने प्रयास गरे पनि ठ्याक्कै त्यस्तो भने छैन । यहाँ जारी शील मौलिक खालका छन् । ‘जंगली वा घरपालुवा पशुपंक्षी हत्या नगर्ने, डँडेलो नलगाउने, मह नकाढ्ने, शिकार नखेल्ने शीलमा उल्लेख छ’, गाउँपालिकाका अध्यक्ष निमा लामा भन्छन् । शीलको पालना गर्ने गराउने प्रतिवद्धता पत्रमा सेराङ गुम्बाका प्रमुख लामा टुल्कु कर्मा रिम्पोछे, टुल्कु पासाङ रिम्पोछे, टुल्कु आङ्वा रिम्पोछे, औतारी लामा पासाङ ङिमा र गाउँपालिका प्रमुख निमा लामालगायतले हस्ताक्षर गरे ।

सेराङ गुम्बा सेराङ हिमालको काखमा अवस्थित छ । सेराङ हिमाल, जसलाई श्रृङ्गी हिमाल पनि भन्ने गरिन्छ । स्थानीय भाषामा भने यसलाई काङ् टासी पासाङ भन्ने गरिन्छ । यो चुमनुब्री गाउँपालिका वडा नं. ५ मा अवस्थित छ । सेराङ हिमाल आरोहणका लागि अनुमति छैन ।

अनुमति माग गर्नका लागि पर्वतारोहण तथा पर्यटनसंग संवद्ध व्यवसायीहरुले लविङ गरिरहेका छन् । तर सेराङ गुम्बाले यो हिमाल आरोहणका लागि अनुमति नदिन सरकारसंग माग गरिरहेको छ । गुम्बाले गाउँपालिकासंग पनि आरोहण नदिन लविङ गरिदिन अनुरोध गरेअनुसार गत शुक्रबार सम्पन्न सेराङ कार्यपालिका बैठकले आरोहणका लागि अनुमति नदिन लबिङ गर्ने निर्णय पनि गरेको छ ।

समुद्री सतहदेखि ३५०० मिटर उचाइमा अवस्थित सेराङ गुम्बा पुग्न चुमनुब्री ५ बिहीबाट करिब छ घण्टा पैदल यात्रा तय गर्नुपर्दछ । चुमनुब्री ४ क्वाक, छाकबाट पनि पदमार्ग छ । विदेशी पर्यटकहरु बिहीबाट सेराङ पुगेर क्वाक छाक हुँदै पुनः मनास्लु पदमार्गमा जोडिने गर्दछन् । सेराङ गुम्बा धेरै पुरानो गुम्बा हो । यहाँका प्रमुख लामा टुल्कु पासाङ रिम्पोछेका अनुसार सेराङ बज्रयाना संप्रदायका संस्थापक गुरु पद्मसम्भवले बेयुल किमोलुङ (लुकेको पवित्र स्थल) अन्तर्गत पर्ने ठाउँ हो भनेर पहिचान गराएको ठाउँ हो ।

‘नेपालीबाट श्रृङ्गी हिमाल र वुद्धमार्गीहरुको धर्मग्रन्थमा टासीपासाङ भनेर लेखिएको हिमाल यहाँ छ’, रिम्पोछेले भने, ‘सातौँ, आठौँ सताव्दीतिर तिव्वती गुरु रिम्पोछेले यहाँ लुकेर रहेको धर्मग्रन्थ तथा धार्मिक सामग्रीहरु फेला पारेका थिए । टासीपासाङ हिमालभित्र अझै पनि त्यस्ता धेरै सामान लुकेर रहेको छ भनेर धर्मग्रन्थमा लेखिएको छ । त्यसै कारणले यो ठाउँ विश्वभरका लागि शान्तिभूमि हो । वुद्धमार्गीका अभ्यासकर्ता मात्र होइन, हिन्दूका ऋषि श्रृङ्गी पनि यो ठाउँमा तपस्या गरेर ज्ञान प्राप्त गरेको ठाउँ हो भन्ने गरिन्छ । त्यसैले हिन्दू धर्मावलम्बीहरु यो हिमाललाई श्रृङ्गी हिमाल भनेर पुज्छन् ।’

टुल्कु पासाङ रिम्पोछेका अनुसार कम्तीमा चारसय बर्षअघि सेराङ गुम्बा निर्माण भएको हो । यसलाई यो क्षेत्रकै सबैभन्दा प्राचीन गुम्बा मानिन्छ । ‘आठौँ सताव्दीका गुरु पद्मसम्भवले ध्यान गरेको ठाउँ भएकाले यो गुम्बाको विशेष महत्व छ । त्यसैले यहाँ धेरै आनी, भिक्षुहरुले वुद्ध धर्मको अभ्यास गरिरहेका हुन्छन्’, उनी भन्छन्, ‘यो ठाउँलाई संरक्षण गर्न र विश्वभर चिनाउन प्रयास गरिरहेका छन ।

प्रमुख लामा चुकी निमा रिम्पोछेले यो गुम्बाको अहिले देखिएको संरचना सन् १९८१ मा निर्माण गर्नुभएको थियो र १९९१ मा सिक्किममा बस्ने तिब्बतका धेरै ठूलो रिम्पोछे आएर उद्घाटन गर्नुभएको थियो ।’ यहाँ ध्यानकेन्द्र, शिक्षा केन्द्र छ रहेका छन् । यो गुम्बामा वुद्ध धर्म संप्रदायको कला, इतिहास आदिका बारेमा पढाइ हुने उनले बताए । धेरै महत्वपूर्ण गुम्बा भएकाले यस गुम्बामा धेरै लामा, आनीहरु वुद्ध धर्म, दर्शनको अभ्यास गर्ने गर्छन् ।

तपस्वीहरु गुम्बा आसपास रहेका गुफाहरुमा तीन, चार बर्षसम्म ध्यानमा बस्ने गर्छन् । ‘ध्यान बस्नका लागि सेराङ आसपास धेरै गुफाहरु छन् । यहाँ २० बर्षसम्म पनि ध्यान बस्ने गरेको पाइन्छ’, रिम्पोछे भन्छन्, ‘आधुनिक प्रणालीको शिक्षा नहुँदा नयाँ पुस्ताका बालबालिकालाई दुख हुने रहेछ भन्ने महशुस भयो र गुम्बाले सेराङ गुम्बा आधारभूत विद्यालय नामको एउटा विद्यालय सञ्चालन गरेको छ ।

त्यहाँ गुम्बाले नै १५ जना शिक्षक राखेर पठनपाठन गरिरहेको छ । यहाँ अहिले १३० जना बालबालिका पढ्ने गर्छन् । जाडोका बेला यहाँभन्दा केही न्यानो हुने बिही गाउँमा बसेर पढ्नका लागि छुट्टै विद्यालय भवन निर्माण गरेर सञ्चालन गरेको छ । यहाँका बालबालिकालाई खाने, बस्ने व्यवस्था गुम्बाले गरेको छ ।

साथै पोशाक, स्टेशनरी सबै सामान गुम्बाले नै निशुल्क उपलब्ध
गराउने गर्दछ ।’ स्वदेशी तथा विदेशी पर्यटक आउने भएपनि हिँसा नहुने हुँदा यहाँ जंगली पशुपन्छीहरु मान्छेका नजिक नजिक आउँछन् । जंगली नाउरहरु मान्छेहरुसंगै खेल्ने, बस्ने, खाने र रमाउने गर्छन् । मानव र जंगली जनावरको मित्रवत सम्बन्धको रमाइलो अनुभव यहाँ लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्