| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा अवदेखि सवारी चालकको लागू पदार्थ सेवन जाँच हुने

सवारी चालकको मापसे (मादक पदार्थ सेवन) जाँच गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले अवदेखि लापसे (लागू पदार्थ सेवन) पनि जाँच गर्ने भएको छ । यही बैशाख २५ गतेदेखि संचालन हुने ट्राफिक सप्ताहबाट लापसे जाँच शुरु गरिने शनिवार पत्रकार सम्मेलन गरी कार्यालयले जानकारी दिएको छ ।

‘चेकिङको क्रममा लागू पदार्थ सेवन गरेर सवारी चलाएको पनि पाएका छौ, तर मापसे चेक गर्ने मेसिनले त्यो देखाउँदैन,’ जिल्ला ट्राफिक प्रमुख शिवप्रसाद पाठकले भने, ‘त्यसैले अवदेखि लापसे पनि जाँच गर्न लागेका हौ ।’ लापसे जाँचका लागी पिसावको परिक्षण गर्नुपर्ने बताउँदै उनले परिक्षणका लागी आवश्यक किट समेत मगाइसकिएको जानकारी दिए । पत्रकार सम्मेलनमा उनले ट्राफिक सप्ताह अन्तरतग संचालन हुने कार्यक्रमबारे पनि जानकारी गराएका छन् ।

उनका अनुसार बैशाख २५ गते पहिलो दिन प्रभातफेरी कार्यक्रमसँगै ट्राफिक नियम सम्बन्धी लघु सचेतना कार्यक्रम संचालन गरी जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गरिने छ । दोस्रो दिन स्वयमसेवक परिचालन गरी जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने र पैदलयात्रुलाई बाटो काट्न सिकाउने बताइएको छ । तेस्रो दिन ग्रामिण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन हुने कार्यालयले जनाएको छ ।

‘चौथो दिन सदरमुकाम लक्षित गरी चालक र परिचालक प्रशिक्षण कार्यक्रम संचालन गर्छाै,’ जिल्ला ट्राफिक इन्चार्ज पाठकले भने, ‘पाँचौ दिन सडक प्रयोगकर्ताहरुलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम संचालन हुन्छ ।’ छैटौ दिन सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिने उनले जानकारी दिए । सातौ अर्थात अन्तिम दिन सप्ताहव्यापी कार्यक्रमको समिक्षा सहित पत्रकारसँग अन्तरक्रिया कार्यक्रम हुने उनले बताए । दिप प्रज्वलन समेत गरिने उनको भनाइ छ ।

उनका अनुसार जिल्लाको चुमनुव्री बाहेक अन्य सबै स्थानीय तहमा एकै साथ सप्ताहव्यापी कार्यक्रम संचालन हुने छन् । कार्यक्रमबाट करिव एक लाख नागरिक लाभान्वित गराउने लक्ष्य कार्यालयको छ । सवारी नियम उल्लघंन र सवारी दुर्घटना न्यूनिकरणका लागी ट्राफिक सप्ताह कार्यक्रम संचालन गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्