
हुल्चुकका घर–घरमा केन्द्रीय प्रशारणको विजुली बत्ती बल्यो
धार्चे गाउँपालिका वडा नं. १ हुल्चुकमा केन्द्रीय प्रशारण लाइन जडान गरिएको छ । हुल्चुकमा सोमबार साँझ पहिलो पटक केन्द्रीय प्रशारण लाइन जडान गरी बत्ती बाल्न सुरु गरिएको हो । केन्द्रीय प्रशारणको लाइन पुगेको गोरखाको यो सबैभन्दा टाढाको गाउँबस्ती हो ।
वडा नं. १ का १३७ घर धुरी लाभान्वित हुने गरी केन्द्रीय प्रशारण लाइन जडान गरिएको वडाध्यक्ष रामसिंह गुरुङले बताए । ‘सबैको घरमा मिटर जडान गरिसक्यो, लाइन आएर कति घरहरुमा त बत्ती बाल्न पनि सुरु गरि सक्यो,’ उनले भने ।
केन्द्रीय लाइन जाँदा गाउँकै लघु जलविद्युत प्रयोग गर्नका लागि चेक आउट स्वीच पनि जडान गरिएको उनले जानकारी दिए । चेकआउट स्वीच जडान भएका घरहरुमा बत्ती बाल्न सुरु गरिएको हो । ‘अधिकंश घरमा चेक आउट स्वीच जडान भई सक्यो,’ उनले भने, ‘बाँकी रहेको केही घरमा आज र भोलीमा जडान गरेर सकिन्छ ।’
केन्द्रिय लाइन जडान गरे पछि दैनिकी जिवनमा धेरै सहजता आउने उनको भनाइ छ । अब गाउँमै स–साना व्यवसाय समेत सञ्चालन गर्न सकिने उनले बताए । ‘गाउँको लघु विद्युतबाट दुई वटा बल्व राखेर बल्न मात्रै हुन्थ्यो, अब त सबै खालको काम गर्न सकिने भयो,’ उनले भने, ‘कुटानी पिसानी मेसिन, राइस कुकर, फ्रिज, पानी तताउने जग सबै प्रयोग गर्न पाउने भएको छ ।’
गाउँमै फर्निचर उद्योग खोल्छु भने पनि बिजुलीले धान्ने उनले बताए ।
केन्द्रीय लाइन बख्र्राको बेला भने सास्ती भोग्नु पर्नेमा उनले चिन्ता व्यक्त गरे । ‘बख्र्रामा बाढी पहिरो आउँछ, हाम्रो भेग झन दुर्गम छ,’ उनले भने, ‘त्यति बेला केन्द्रीय लाइन कतै पोल ढल्ला, कतै के होला बत्ती आउने हो की नआउन हो भनेर चिन्ता लागेको छ ।’ स्थानीयबासीले केन्द्रीय लाइनको प्रति युनिट ३० रुपैयाँ तिर्नु पर्ने वडाध्यक्ष गुरुङले बताए । यसअघि हुल्चुकमा गाउँमै उत्पादन गरिएको १५० किलोवटको लघु विद्युत प्रयोग गर्दै आएका थिए ।




