| मङ्लबार, कार्तिक २४, २०८३

ट्राफिक प्रहरीहरुलाई योग अभ्यास

आगलागी र सवारी चापका कारण बढेको वायु प्रदुषणको दुस्प्रभावबाट बच्न जिल्लाका ट्राफिक प्रहरीहरुलाई नस्य तथा जलनेती क्रिया (श्वासप्रश्वास सम्बन्धी योग अभ्यास) सिकाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाको आयोजनामा आइतवार योग अभ्यास गराइएको हो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत १७ जना ट्राफिक प्रहरीको सहभागिता रहेको थियो । ट्राफिक प्रहरीहरु दिनभर धुलो, धुवाँ र प्रदुषणकाबीच काम गर्नुपर्ने भएकाले उनीहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको केन्द्रका प्रमुख प्रशान्त पण्डितले बताए ।

‘उहाँहरु दैनिक रुपमा सडकमा खटिनुहुन्छ जसका कारण उहाँहरुमा श्वासप्रश्वास सम्बन्धी समस्याको जोखिम बढ्छ’, उनले भने, ‘समस्याको जोखिम कम गर्न र उहाँहरुको श्वासप्रश्वासलाई सुदृढिृकरण गर्ने उद्देश्यले योग अभ्यास गराएका हौं ।’ उनका अनुसार जलनेती एक प्राचीन र प्राकृतिक योगिक क्रिया हो । यसले पिनासबाट छुटकारका पाउन मद्दत पुग्ने उनले बताए । नाकमा फोहोर जम्न नदिने र जम्मा भएका किटाणु पनि निकाल्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्