
गोरखाको करिब ४२ हेक्टर वन क्षेत्रमा आगलागी, स्वास्थ्यमा प्रत्यक्ष असर
प्रतीक्षा आले मगर ।
जिल्लाको करिब ४२ हेक्टर वन क्षेत्र आगलागीबाट प्रभावित बनेको छ । दुई महिनाको अवधिमा करिब ४२ हेक्टर वन क्षेत्र डढेलोले क्षति पुगेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
‘फागुन यता मात्रै दश वटा भन्दा बढी वन क्षेत्रमा आगलागी भइसक्यो,’ कार्यालयका वन अधिकृत महेश पौडेलले भने, ‘अहिले पनि दिनहूँ जस्तो आगलागी भइरहेका छन् ।’ आगलागीबाट गोरखा नगरपालिका, बारपाक सुलिकोट र भीमसेन थापा गाउँपालिका बढी प्रभावित बनेको उनले बताए । सुख्खा मौसमका कारण वन डढेलोको जोखिम बढेको उनको भनाइ छ ।
बिहिबार मात्र आगलागीका कारण भीमसेन थापा गाउँपालिका २ स्थित एक गोठ जलेर नष्ट भएको छ । स्थानीय दिननाथ भट्टराईको गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मानवीय क्षती भने नभएको बताइएको छ ।
त्यस्तै गोरखा सदरमुकामस्थित रानीवन क्षेत्रमा दिनहूँजसो डँढेलो लाग्ने गरेको छ ।
वनको सक्रिय व्यवस्थापन नभएका कारण आगलागीका घटनाहरु बढ्दै गएको प्रहरीको भनाइ छ । जिल्लाका अधिकांश वन डढेलो नीजि जग्गाबाट शुरु हुने गरेको डिएसपी रमेशकुमार श्रेष्ठले बताए । डढेलो नियन्त्रणका लागि बिभिन्न ठाउँमा सचेतनामूलक कार्यक्रमहरु संचालन हुदैँ आएको छ । तर डँढेलो नियन्त्रण भने हुन सकेको छैन ।
डढेलोले वायु प्रदुषण बढाउने जनस्वास्थ्य अधिकृत नवराज खड्का बताउँछन् । ‘डढेलोको धुँवामा बिभिन्न किसिमका ग्यासहरु हुन्छन्,’ उनले भने, ‘यसले वायु प्रदुषण बढाउने मात्र होइन मानिसको स्वास्थ्यमा समेत नकरात्मक असर पु¥याउछ ।’ गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सिद्धार्थ खनालका अनुसार डढेलोका कारण हुने वायु प्रदुषणले आँखा पोल्ने, शरीर चिलाउने र चिड्चिडापन हुन्छ । वायु प्रदुषणको दीर्घकालीन असरहरु भने घातक रहेको उनको भनाइ छ ।




