
१७ वर्षअघि आँखाको ज्योती गुमाएकी लामाले ९० वर्षमा फिर्ता पाइन्
चुमनुब्री गाउँपालिका ६ की पागो लामाले गुमेको आफ्नो आँखाको ज्योती १७ वर्ष पछि अर्थात ९० बर्षको उमेरमा फिर्ता पाएकी छिन् । गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार लामाले ७३ वर्षको हुदाँ दुबै आँखाको ज्योती गुमाएकी थिइन् ।
९० वर्षको उमेरमा आफ्नो आँखाको ज्योती पुनः फिर्ता पाउँदा असीम खुसी भएको पागोलाई उदृत गर्दै गाउँपालिका अध्यक्ष निमा लामाले बताए । ‘उहाँले १७ वर्षअघि दुबै आँखाको ज्योती गुमाउनु भएको रहेछ । अहिले शल्यक्रिया गरेर पुनः आँखा देख्न पाउँदा निकै खुसी हुनु भएको छ’ उनले भने ।
८७ बर्षकी अर्की दावा भुटीले पनि दृष्टि गुमेको पाँच वर्षपछि फेरि आँखा देख्न सक्ने भएकी छिन् । उनीहरुसँगै चुमनुब्री ६ मा सञ्चालित आँखा उपचार शिविरमा १९ जनाको आँखाको शल्यक्रिया गरिएको अध्यक्ष लामाले जानकारी दिए ।
गाँपालिकाको पहल र वडा नं. ६ को समन्वयमा देलेक चिल्ड्रेन फाउण्डेशनले आँखा उपचार शिविर सञ्चालन गरेको हो । शिविरमा वडा नं. ६ र ७ का आँखाका बिरामीहरुले सेवा लिएका थिए । बैशाख ७ गतेदेखि सुरु भएको शिविर ९ गते सम्पन्न भएको हो । तीन दिनसम्म चलेको शिविरमा १७२ जनाको आँखा जाँच गरिएको थियो ।




