| मङ्लबार, कार्तिक २४, २०८३

दुई दशकपछि व्यूतिँएको त्रिभुवन पुस्तकालयको विधिवत उद्घाटन

बन्द भएको दुई दशकपछि पुनः संचालनमा आएको त्रिभुवन पुस्तकालयको शनिबार उद्घाटन गरिएको छ । पुस्तकालय भवनभित्र एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले पुस्तकालयको उद्घाटन गरेका हुन् ।
गत फागुनदेखि पुनः संचालनमा आएको उक्त पुस्तकालयको शनिवार औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

२००८ सालमा स्थापना भएको यस पुस्तकालय विगत दुई दशकदेखि बन्द अवस्थामा थियो । भूकम्पले क्षतिग्रस्त भवन गतबर्ष मात्रै पुनर्निर्माण गरिएको संचालक समिति अध्यक्ष कुशललाल श्रेष्ठले बताए । ‘नवनिर्मित भवनको २०७९ असार १४ गते उद्घाटन भयो,’ उनले भने, ‘पुस्तकालय भने गत फागुनबाट संचालन ग¥यौँ, औपचारिक उद्घाटन भने आज ग¥यौ ।’

यसअघि कानुनी रुपमा पुस्तकालयको वैधता समेत नभएको जानकारी गराउँदै उनले थपे, ‘कानूनी रुपमा पनि पुस्तकालयको कुनै वैधता नरहेको र २०७२ सालको भूकम्पले पुस्तकालय रहेको सानो पाटी पनि ध्वस्त भई एउटा इतिहास मेटिन लागेको अवस्थाको पुस्तकालयलाई पुनः जागरण गर्नुपर्नेे भन्ने मान्यताको साथ पुनः संचालनमा ल्याएका हौँ ।’ २०७४ सालमा जिल्ला प्रशासन कार्यालयमा पुस्तकालय दर्ता गरिएको उनले जानकारी दिए । उद्घाटन कार्यक्रममा पुस्तकालयका संरक्षक सदस्य, विशिष्ट सदस्य र आजिवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख मसलीमाया थोकर, नगरपालिकाका निवर्तमान मेयर राजनराज पन्त, निवर्तमान उपमेयर विनाकुमारी श्रेष्ठ, पुस्तकालयका संरक्षक डा. राजुबाबु श्रेष्ठ, जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठ, पुस्तकालयका सल्लाहकार स्थानेश्वर दुवाडी, रामचन्द्र आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका वक्ताहरुले पुस्तकालयलाई नमुना पुस्तकालयको रुपमा विस्तार गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्