
जिल्ला बिकास समितिका पुर्व सभापति न्यौपानेको निधन
तत्कालिन जिल्ला बिकास समिति गोरखाका पुर्व सभापति चन्द्रप्रसाद न्यौपानेको निधन भएको छ । उपचारको क्रममा सोमवार काठमाडौंको चिरायु अस्पतालमा उनको निधन भएको हो । श्वास प्रश्वासमा समस्या देखिएपछि केही दिनदेखि उनी अस्पताल भर्ना भएका थिए ।
भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । परिवार स्रोत अनुसार उनलाई सुगर र प्रेसर समेत थियो । ८१ बर्षको उमेरमा निधन भएका न्यौपानेको पुशपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकका स्थायी वासिन्दा न्यौपाने २०४९ सालमा तत्कालिन जिल्ला बिकास समिति गोरखाको सभापति बनेका थिए ।
नेपाली कांग्रेस गोरखाको संस्थापक सदस्य समेत रहेका उनी दुई पटकसम्म जिल्लाको पार्टी उपसभापति बने । २०४५ र २०६३ सालमा उनी उपसभापति बनेको कांग्रेस पार्टी कार्यालय गोरखाले जनाएको छ । २०६२/६३ को जनआन्दोलनको क्रममा उनी काठमाडौंमा सात दिन हिरासतमा समेत परेका थिए । हाल उनी कांग्रेस गोरखाको सल्लाहकार सदस्य हुन् ।
न्यौपानेको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको कांग्रेस गोरखाले जनाएको छ । सोमवार शोक वक्तव्य जारी गर्दै पार्टीले न्यौपानेको निधनले स्तब्ध बनाएको बताएको छ । स्वर्गिय न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीले उनका परिवारजनहरु प्रति समवेदना समेत प्रकट गरेको छ ।




