
बढार्ने कामदारले तीन महिनादेखि तलब पाएनन्, गोरखा बजारको फोहर उठ्न अनियमित
गोरखा बजारलाई स्वच्छ, सफा र हराभरा राख्न खटिने कामदारहरु बिगत लामो समयदेखि बिनापारिश्रमिक काम गरिरहेका छन् । गोरखा बजारको सडक, चोक तथा खुल्ला क्षेत्रको फोहर बढार्ने तथा फोहर उठाउने कामदारहरु गत माघ महिनादेखि बिनापारिश्रमिक काम गर्न बाध्य भएका हुन् ।
गोरखा नगरपालिकाको फोहर व्यवस्थापन गरी नगर स्वच्छ, सफा र हराभरा राख्ने उद्देश्यसहित स्थापित क्लिन गोरखा नामक संस्थाले उनीहरुको खटनपटन तथा पारिश्रमिक दिने गरेको थियो । तर तीन महिनादेखि बिना पारिश्रमिक काम गर्न बाध्य भएको कामदारको गुनासो छ । क्लिन गोरखामा आवद्ध भएर सातजना कुचीकार, फोहर उठाउने सवारी चालक तथा सहयोगीहरु कार्यरत छन् । उनीहरुमध्य सबैले पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।
‘दाम पाए पो काम गर्न नि जाँगर लाग्छ र’, नाम नखुलाइदिन अनुरोध गर्दै एकजना कुचीकार भन्छिन्, ‘तीन महिना भयो भोको पेटमा काम गरेको । दिने साँगा पनि देखेको छैन ।’ बिहान चारबजेदेखि सातबजेसम्म दुख गरेर बढारे पनि तलब नपाएको उनीहरुको गुनासो छ । ‘सँधै बिहान चारबजेदेखि सातबजेसम्म बजारमा बढारेर महिनामा जम्मा पाँच हजार पाउँथ्यौँ । त्यही पनि तीनमहिनादेखि पाएनौँ’, उनले भनिन् ।
लामो समयदेखि पारिश्रमिक नदिएपछि कामदारहरु सबैले काम छाडेका थिए । तर क्लिन गोरखाले पारिश्रमिक दिने भन्दै काममा बोलाएका अर्की कुचीकारले गुनासो गरिन् । ‘पैसा नदिए काम नगर्ने भनेर चैत लागेपछि काम रोकेका थियौँ । बजारमा फोहरको डंगुर थुप्रियो । छिट्टै पैसा दिन्छौँ काम गर्न आइदिनुप¥यो भनेर बोलाए’, नाम गोप्य राख्न अनुरोध गर्दै उनले भनिन्, ‘दुईहप्ता काम रोकेपछि फेरि काम गर्न त आइयो, तर पैसा दिएका छैनन् । दिने साँगा पनि देखेको छैन ।’ चैतभरिमा पारिश्रमिक नपाए बैशाख लागेपछि फेरि काममा नजाने उनले बताइन् ।
क्लिन गोरखाले काम सुरु गरेका बेला १४ जना कुचीकारहरु थिए । तर अहिले काम छाड्दै–छाड्दै सातजना मात्र बाँकी रहेका छन् । पर्याप्त कामदार नभएपछि अहिले बजारको फोहर उठ्ने समय तालिका पनि प्रभावित भएको छ । सेवाग्राहीहरुले फोहर उठाएबापतको शुल्क नतिरेकाले कर्मचारीलाई पारिश्रमिक दिन नसकिएको क्लिन गोरखाले जनाएको छ ।
‘घरवाला, डेरावाला, पसलवाला, सरकारी कार्यालयहरु पनि शुल्क दिँदैनन्’, क्लिन गोरखाका संस्थापक भगवानबाबु मास्के भन्छन्, ‘हाम्रो स्रोत भनेकै सेवाग्राहीहरुबाट उठेको शुल्क हो । शुल्क नउठे कामदारलाई कसरी पारिश्रमिक दिन सकिन्छ । सदस्यता रसिद काटेकाहरुले पनि धमाधम रद्ध गर्न थालेका छन् ।’ ६० लाख रुपैयाँ भन्दा धेरै रकम उठाउन बाँकी रहेको उनले बताए । ‘त्यति उठ्यो भने कर्मचारीलाई तलब दिन पनि सकिन्छ, नगरपालिकालाई कर तिर्न पनि सकिन्छ’, मास्के भन्छन्, ‘फोहर शुल्क दिन अटेर गर्नेहरुबाट शुल्क असुल गर्न नगरपालिकाले पनि मद्दत गर्नुप¥र्यो भनेर नगरपालिकासंग माग गरेका छौँ, तर नगरपालिकाले साथ दिएको छैन ।’
गोरखा नगरपालिकाले भने नगरपालिकालाई तिर्नुपर्ने ठूलो परिमाणको शुल्क पनि नतिरेको जनाएको छ । ‘कामदारलाई पनि पारिश्रमिक दिएको छैन भन्ने सुनेका छौँ । नगरपालिकालाई पनि ५० लाख भन्दा धेरै राजस्व तिर्न बाँकी नै छ’, नगरप्रमुख कृष्ण राना भन्छन्, ‘तिर्नुपर्ने राजस्व नतिर्ने अनि अनुदान दिनुप¥यो भनेर उहाँहरु माग गर्नुहुन्छ । त्यो कसरी हुनसक्छ ?’ शुल्क उठाउने, राजस्व तिर्ने, पारिश्रमिक दिने सबै क्लिन गोरखाको जिम्मेवारी भएकाले नगरपालिकालाई थप भार नपार्न उनले आग्रह गरे ।




