| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाबाट राजिनामा दिएर पुन चुनाव लड्न प्रचण्डलाई डाक्टर भट्टराईको चुनौति


गोरखाबाट चुनाव जितेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा गरेर नयाँ निर्वाचन लड्न पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले चुनौति दिएका छन् । गृहजिल्ला गोरखाका पत्रकारहरुसंगको भेटमा डाक्टर भट्टराईले एउटा पार्टीको मतले जितेर अर्को पार्टीसंग मिलेर प्रधानमन्त्री बन्नु अनैतिक हुने हुँदा पुन चुनाव लडी जितेर जान चुनौति दिएका हुन् ।


‘प्रचण्डजीले जुन गठबन्धनबाट चुनाव लड्नुभो, अर्थात चुनावपूर्वको जुन गठबन्धन छ, त्यसलाई अर्को चुनावभन्दा पहिले छोड्नु राजनीतिक र नैतिक बेइमानी हो’, उनले भने, ‘गठबन्धन परिवर्तन गर्ने हो भने उहाँले नयाँ जनादेश लिनुपर्छ । जसको सहयोगमा उहाँले निर्वाचन जित्नुभा’छ, तिनीहरुलाई त धोका दिएर गठबन्धन फेर्नु राजनीतिक अनैतिकता ठहर्छ । त्यस्तो अबस्थामा उहाँले चुनाव जितेको क्षेत्रबाट राजिनामा दिएर फेरि नयाँ निर्वाचन गर्नुपर्छ ।’ एउटा पार्टीको भोट लिएर जितेपछि त्यो अवधिसम्म धोका दिनु नहुने उनको भनाइ छ । ‘कांग्रेससंग गठबन्धन गरिसकेपछि पाँच बर्षसम्म त कमसेकम धर्म हो नि त, चट्ट छोडेर एमालेसंग जानु भयो । कि त्यहाँ बसिरहनु पथ्र्यो, त्यहाँ पनि बस्नु भएन फेरि कांग्रेससंग जानु भयो, फेरि एमालेतिर जानु भयो’, उनले भने, ‘उहाँले तमासा गरिरहनुहुन्छ । फेरि उहाँलाई नै कुर्चीमा राखेर पुजेर यो देश बन्छ भनेर बस्नु मुर्खता हो । उहाँले लज्जा प्रदर्शन गरिसकेपछि म पनि पछि लागिरहन सकिन ।’


जसरी हुन्छ कुर्सीमा बस्ने प्रवृत्तिलाई नेपालका विद्वतवर्गले पनि पुज्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ । ‘जसले कुर्ची भेट्टायो, त्यसलाई तपाईहरु पनि ताली पिट्नुहुन्छ हो कि होइन ?’, उनले भने, ‘क्या गजब मान्छे, उसलाई पनि ठग्यो, उसलाई पनि झुक्यायो, सबलाई छक्याएर फेरि प्रधानमन्त्री हुनुभयो । त्यस्तो चलाख पो हुनुपर्छ तपाईहरु नै भन्नुहुन्छ । हो कि होइन ?’ दण्डित हुनुपर्नेलाई वाहवाही गर्ने प्रवृत्तिले पनि देशले दुख पाइरहेको उनको भनाइ छ ।


आफूले सदासयता राखेर सँधै प्रचण्डलाई सहयोग गर्ने गरे पनि प्रचण्डले आफूलाई सँधै प्रयोग गरेर फाल्ने गरेको डाक्टर भट्टराईको गुनासो छ । ‘प्रचण्डजीलाई सरकारको नेतृत्व गर्न दिएर कांग्रेस, एमालेसंग सहकार्य गरी शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न मैले सँधै उहाँलाई गोरखा २ छाडेको हुँ’, उनले भने, ‘प्रचण्डजीले केही असजिलो प¥यो कि, मलाई प्रयोग गर्नुहुन्छ । नित्तान्त आफ्नो स्वार्थका लागि मात्र मलाई प्रयोग गर्नुहुन्छ । अनि खोला त¥यो, लौरो बिस्र्यो गर्नुहुन्छ । यो तमासा मैले बर्षौँदेखि हेरिरहेको छु ।’ उनको अनुहार पढेर धोकाधडी प्रवृत्ति बुझ्ने उनले बताए । ‘अहिले सुन्दैछु कुकुल्याण्डमा प्रचण्डजीको पनि नाम जोडिएको छ’, उनले भने, ‘मेरो शुभकामना छ, उहाँलाई क्यै त्यस्तो बिपत्ति आइनलागोस्, तर कुरा धेरै गम्भीर छ त्यो ।’


देशलाई कंगाल बनाएर व्यक्तिगत स्वार्थका लागि राजनीति गरेका कारण नेपालका राष्ट्रपति, प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय स्तरमा कुनै भाउ नभएको भट्टराईले बताए । ‘प्रधानमन्त्री, राष्ट्रपति भएर के हुन्छ ? घुइँघुई प्रहरी अघिपछि लाएर हल्ला गर्दै हिँडेर अहिले कसले टेर्छ ?’, उनले भने, ‘देशलाई कंगाल बनाउने अनि म नेपालको प्रधानमन्त्री हुँ भनेर हात बढाउँँदा विश्वका कैयौँ नेताहरुले हात मिलाउन पनि मान्दैनन् । फेरि लाज मानीमानी आफ्नो हात आफ्नै ठाउँमा ल्याएको हामीले देखेका छौँ ।’
पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कांग्रेस, एमाले र माओवादी मिलेर स्थिर सरकार बनाउनु जरुरी रहेको बताएका छन् । मुलुकको विकास र संवृद्धिका लागि स्थिर सरकार अपरिहार्य भएको उनको भनाइ छ ।

‘जनआन्दोलन र जनयुद्धको आडमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यसका केही कार्यभार संविधान निर्माण र सेना समायोजन त पूरा भयो । तर सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग लगायतका शान्ति प्रक्रियाका कामहरु टुंग्याउन बाँकी छ’, उनले भने, ‘त्यसका निम्ति कांग्रेस, एमाले र माओवादी मुख्य तीनवटा शक्ति मिल्नु आवश्यक थियो, छ । पहिलो, दोस्रो र तेस्रो दल मिलेर सरकार बनाएपछि शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने, आर्थिक विकासका कार्ययोजनाहरु पूरा गर्ने दिशामा अघि बढ्नुपर्छ भन्ने मेरो सुविचारित सोच हो । यस विषयमा देउवाजी, ओलीजी र प्रचण्डजीसंग कुराकानी गरेर प्रयत्न पनि गरेको थिएँ । ओलीजी र देउवाजी त लचिलो र सकारात्मक पनि देखिनु भएको थियो । प्रचण्डजी नै मान्नु भएन । विशुद्ध पार्टीको सत्तामुखी त पहिल्यैदेखि हुनुहुन्थ्यो, अब अहिले राज्यको सत्तामुखी पनि देखिनु भयो । त्यसले गर्दा उहाँले के बोल्नु हुन्छ र के गर्नुहुन्छ भन्ने कुनै निश्चितै नहुने भयो । सत्ता र शक्तिका लागि उहाँ जे पनि गर्न सक्नुहुन्छ भन्ने पुष्टि भएको छ ।’


गण्डकी प्रदेश सरकार बनाउन नेसपाले कसलाई सघाउने निधो भइनसकेको डाक्टर भट्टराईले बताए । ‘नेकपा माओवादी केन्द्रले हामीलाई सँधै असाध्यै षड्यन्त्रमुलक ढंगले धोका दिने काम गरिराखेको छ । उसका गतिविधिहरु असाध्यै अलोकतान्त्रिक, अनैतिक ढंगको देखिएको छ’, डाक्टर भट्टराईले भने, ‘त्यसैले तत्कालै उनीहरुलाई साथ दिने अबस्था छैन । तर अर्को पक्षसंग पनि कतिपय कुराहरु मिल्छन् कि मिल्दैनन् भन्नेचाहिँ टुंगो छैन ।’ केही समय अझै पर्ख र हेरको अबस्थामा रहेकाले आवश्यकता हेरेर उपयुक्त निर्णय लिने उनले बताए ।


नेसपाबाट गण्डकी प्रदेशमा एकजना सांसद निर्वाचित छन् ।

प्रतिक्रिया दिनुहोस्