
कांग्रेस, एमाले, माओवादी मिलेर संयुक्त सरकार बनाउनु जरुरी : पूर्व प्रधानमन्त्री भट्टराई
पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कांग्रेस, एमाले र माओवादी मिलेर स्थिर सरकार बनाउनु जरुरी रहेको बताएका छन् । नेपाल समाजवादी पार्टीका भेला आयोजक समितिका संयोजकसमेत रहेका भट्टराईले गृहजिल्ला गोरखामा बिहिबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुलुकमा स्थिर सरकारको खाँचो रहेको र त्यो प्रमुख तीन दल मिलेर मात्र सम्भव रहेको बताएका हुन् । मुलुकको विकास र संवृद्धिका लागि स्थिर सरकार अपरिहार्य भएको उनको भनाइ छ । ‘जनआन्दोलन र जनयुद्धको आडमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यसका केही कार्यभार संविधान निर्माण र सेना समायोजन त पूरा भयो ।
तर सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग लगायतका शान्ति प्रक्रियाका कामहरु टुंग्याउन बाँकी छ’, उनले भने, ‘त्यसका निम्ति कांग्रेस, एमाले र माओवादी मुख्य तीनवटा शक्ति मिल्नु आवश्यक थियो, छ । पहिलो, दोस्रो र तेस्रो दल मिलेर सरकार बनाएपछि शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने, आर्थिक विकासका कार्ययोजनाहरु पूरा गर्ने दिशामा अघि बढ्नुपर्छ भन्ने मेरो सुविचारित सोच हो । यस विषयमा देउवाजी, ओलीजी र प्रचण्डजीसंग कुराकानी गरेर प्रयत्न पनि गरेको थिएँ । ओलीजी र देउवाजी त लचिलो र सकारात्मक पनि देखिनु भएको थियो । प्रचण्डजी नै मान्नु भएन । उहाँले राजनीतिक एजेण्डाभन्दा पनि कुर्चीलाई मात्र केन्द्रमा राख्नुभयो ।’
नेपाल विश्वका उदीयमान शक्तिराष्ट्रका बीचमा रहेको, विश्व समुदायको ध्यान पनि नेपालतिर रहेकाले यहाँ सँधै अस्थिरता कायम गरी स्वार्थ प्राप्त गर्ने प्रयत्न हुने हुँदा तीन ठूला दल मिलेर राष्ट्र जोगाउनु आजको आवश्यकता रहेको उनको भनाइ छ । प्रचण्डको खोलात¥यो, लौरो बिस्र्यो गर्ने प्रवृत्तिले अहिलेको राजीतिक अबस्था निम्तिएको उनले बताए ।
‘पहिले कांग्रेससंग गठबन्धन गरेर जित्ने, पहिले प्रधानमन्त्री बन्ने पालो नआउने वित्तिकै एमालेसंग जाने, फेरि कांग्रेसतिर जाने, फेरि एमालेतिर जाने जुन काम उहाँले गर्नुभयो, त्यसलेचाहिँ उहाँले राजनीति कुनै बिचारले भन्दा पनि विशुद्ध सत्ता स्वार्थका निम्ति राजनीति गर्नुभएको छ भन्ने पुष्टि भएको छ’, डाक्टर भट्टराईले भने, ‘बिगतको उहाँसंगको संगतको मेरो अनुभवले पनि के भन्छ भने विशुद्ध पार्टीको सत्तामुखी त पहिल्यैदेखि हुनुहुन्थ्यो, अब अहिले राज्यको सत्तामुखी पनि देखिनु भयो । त्यसले गर्दा उहाँले के बोल्नु हुन्छ र के गर्नुहुन्छ भन्ने कुनै निश्चितै नहुने भयो । सत्ता र शक्तिका लागि उहाँ जे पनि गर्न सक्नुहुन्छ भन्ने पुष्टि भएको छ ।’
पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले गण्डकी प्रदेश सरकार गठनमा नेपाल समाजवादी पार्टीले कसलाई सघाउने भन्ने अझै ठेगान नभइसकेको बताए । ‘नेकपा माओवादी केन्द्रले हामीलाई सँधै असाध्यै षड्यन्त्रमुलक ढंगले धोका दिने काम गरिराखेको छ । उसका गतिविधिहरु असाध्यै अलोकतान्त्रिक, अनैतिक ढंगको देखिएको छ’, डाक्टर भट्टराईले भने, ‘त्यसैले तत्कालै उनीहरुलाई साथ दिने अबस्था छैन । तर अर्को पक्षसंग पनि कतिपय कुराहरु मिल्छन् कि मिल्दैनन् भन्नेचाहिँ टुंगो छैन ।’ केही समय अझै पर्ख र हेरको अबस्थामा रहेकाले आवश्यकता हेरेर उपयुक्त निर्णय लिने उनले बताए ।
नेसपाबाट गण्डकी प्रदेशमा एकजना सांसद निर्वाचित छन् ।




