
असिनापानीले बारपाक र धार्चेमा क्षति, अन्नबाली तहसनहस
लगातार एकघण्टासम्म आएको मुसलधारे असिनापानीले बारपाकको हिमालय माध्यमिक विद्यालयको भवनमा क्षति पुगेको छ । भित्र्याउने बेला भएको अन्नबाली तहसनहस भएको छ । शनिबार साँझ पाँच बजेदेखि छ बजेसम्म मुसलधारे असिनापानीपछि आएको बाढी विद्यालय परिसरभित्र पसेर क्षति पु¥याएको व्यवस्थापन समितिका अध्यक्ष उत्तम विकले जानकारी दिए ।

‘लगातार एकघण्टासम्म मुसलधारे असिनापानी प¥यो । त्यसपछि उलिएर आएको स्कूलखोला तारबार भत्काएर स्कूलभित्र प¥यो’, उनले भने, ‘कम्पाउण्डको तारबार ढलेको छ । क्याण्टिनको भाँडाकुँडा, ग्याँस सिलिण्डर बगाएर लगेको छ । आँगनभरि बाढीले ढुंगामुढा थुपारेर बगर बनाएको छ ।’ जस्ताले बारेर बनाएको क्याण्टिनभित्र बाढी पसेर बगाएर लगेको उनले बताए ।
त्यस्तै लगातारको असिनापानीले बारपाकमा भित्र्याउने बेला भएको गहुँ, जौ, आलुबारी क्षतिग्रस्त पारेको छ । ‘भित्र्याउने बेला भएको गहुँ, जौ ढुटो पारेको छ’, वडाअध्यक्ष धनबहादुर घले भन्छन्, ‘भर्खर दुईपाते भएर उम्रिएको मकै असिनाले माटोमा मिलाइदियो । आलु पनि क्षतिग्रस्त भएको छ ।’
मुखमा आएको मुख्यबालीहरु नष्ट भएपछि स्थानीयबासी चिन्तित भएका छन् । ‘किसानहरु चिन्तित छन् । सरकारले राहत दिनुपर्छ भनेर किसानको माग छ’, उनले भने, ‘गाउँपालिकाका अध्यक्षलाई गाउँको अबस्था अवलोकन गर्न बोलाएको हो । आउन सक्नु भएको छैन । अहिले पनि असिना पानी आइरहेको छ ।’

तीनघण्टासम्म अबिरल बर्षा भए पनि एकघण्टा भीषण असिनापानी परेको उनको भनाइ छ । ‘साँझतिर यति ठूलो पानी प¥यो कि, साँझ ४ः५५ देखि ५ः५५ बजेसम्म एकघण्टामा ५८.४ मिलिमिटर पानी परेको थियो’, उनले भने, ‘तर पानीचाहिँ बिहानदेखि बेलुकासम्म निरन्तर परेको हो ।’
असिनापानीले धार्चे गाउँपालिका ४ लाप्राक, ५ को गुम्दा, सिङ्ला, यमगाउँ, लप्सीबोट, खानीवेशी, वडा नं. ७ को लापुगाउँ, खानीगाउँमा पनि अन्नबाली र अन्य संरचनामा क्षति पु¥याएको छ ।
यस क्षेत्रको मुख्यबाली गहुँ, जौ, आलु, मकैलगायतका बाली क्षतविक्षेत बनाएको स्थानीयबासीको भनाइ छ । ‘हाम्रो क्षेत्रको मुख्यबाली भनेकै गहुँ, जौ, आलु, मकै, राज्मा, मुसुरो, लसुन, प्याज हो । हिजोको असनापानी र भेलबाढीले केही बाँकी राखेको छैन’ वडा नं. ४ लाप्राकका स्थानीय राम गुरुङ भन्छन्, ‘कतै भाँचेर लतारेको छ, कतै बगाएको छ, कतै पुरेर सखाप पारेको छ ।’ किसानहरु अब सरकारबाट राहत, क्षतिपूर्तिको मुख हेरेर बसेका उनले बताए ।

वडा नं. ५ को सिङ्लाका किसानहरुको ५५ वटा भेँडा हराएको वडाअध्यक्ष भीमप्रसाद गुरुङले जानकारी दिए । ‘हाम्रो गुम्दा आलुको पकेट क्षेत्र भन्छन्, तर असिनापानीले तहसनहस छ । क्षतिको यकिन विवरण आएको छैन’, उनले भने, ‘हाम्रोतिर भिरालो बारी हुन्छ । असिनापानी पछि आएको भेलले आलुबारी बगाएर पनि लगेको छ । माथिबाट भेल आएर पुरेको पनि छ । खानीवेशीमा विराज तामाङको घर बगाएको छ । सिङ्लामा ५५ वटा भेँडा बेपत्ता छ ।’
धार्चे ७ लापु गाउँमा अबिरल असिनापानीले निर्माणाधीन घाँटुघर भत्किएको वडाअध्यक्ष राकेश गुरुङले जानकारी दिए । असिनापानीले खानीगाउँका सचिन गुरुङको घर पनि पहिरोले क्षति पु¥याएको उनले बताए । ‘बाटोघाटो पनि भेलाबाढीले बगाएर क्षति पु¥याएको छ’, उनले भने ।




